गाजा युद्धमा ज्यान गुमाएकामध्ये ७० प्रतिशत महिला तथा बालबालिका

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयको प्रतिवेदनअनुसार करिब ८० प्रतिशतको आवासीय भवनमा मृत्यु भएको थियो, जसमा ४४ प्रतिशत बालबालिका र २६ प्रतिशत महिला थिए।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ यताको डरलाग्दो विवरण दिने एक प्रतिवेदन प्रकाशित गरेको छ।

प्रतिवेदनका अनुसार हालसम्म मृत्युमध्ये झन्डै ७० प्रतिशत बालबालिका र महिलाहरू रहेका छन्। गाजा युद्धमा मारिनेमध्ये करिब ८० प्रतिशतको आवासीय भवनमा मृत्यु भएको थियो, जसमा ४४ प्रतिशत बालबालिका र २६ प्रतिशत महिला थिए।

संयुक्त राष्ट्र मानव अधिकारका लागि उच्चायुक्त भोल्कर टर्कको भनाइ छ, “मेरो कार्यालयले आज मानिसहरूका लागि प्रकट भएको डरलाग्दो विवरणको प्रतिवेदन प्रकाशित गरिरहेको छ। अक्टोबर ७ सन् २०२३ देखि जघन्य अपराधहरू हुने खतराबारे मैले बारम्बार चेतावनी दिएको छु। अन्तर्राष्ट्रिय कानूनले यी गम्भीर उल्लंघनको लागि न्याय दिनै पर्छ।”

हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा आक्रमण  गरेको थियो। उक्त आक्रमणमा एक हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएका थियो भने उनीहरूले २५० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएका थिए। तिनीहरूमध्ये लगभग १०० जना भन्दा बढी अझै पनि बन्धक छन्। 

जवाफमा इजरायलले गाजामा हमासलाई निशाना बनाउँदै कडा जवाफी आक्रमण शुरू गर्‍यो। इजरायली कारबाहीले गाजामा ४५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाइएको छ।