प्रधानमन्त्रीको चीन भ्रमणमा विगतका समझदारी कार्यान्वयनमा जोड दिइने

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण ‘एकदम छोटो’ हुने र भ्रमणका क्रममा विगतमा भएका ‘उच्चस्तरीय समझदारी’ कार्यान्वयनमा जोड दिइने बताएका छन्।

काठमाडौँ– सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा विगतमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनमा जोड दिइने बताएको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमण आगामी डिसेम्बर पहिलो साता हुँदै छ।

शनिबार बसेको सचिवालय बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमण एकदम छोटो हुने र भ्रमणका क्रममा विगतमा भएका उच्चस्तरीय समझदारी कार्यान्वयनमा जोड दिइने बताएका हुन्।

“डिसेम्बरको पहिलो साता हुन्छ। एकदम छोटो भ्रमण हुन्छ। द्विपक्षीय भेटघाट र वार्ताहरू सक्काएर उहाँ फर्किनुहुन्छ। मूलतः चिनियाँ राष्ट्रपति नेपाल आउँदा खेरी भएका उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण गर्दा भएका समझदारी कार्यान्वयन नै हाम्रो जोड हुने छ,” उनले भने, “त्यसका अलावा द्विपक्षीय हितका अन्य विषयहरूमा पनि हामी केन्द्रित भएर छलफल गर्ने छौँ।”

त्यस्तै, उनले एमाले र कांग्रेसले बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको दाबी गरे। दुई दलबीच निरन्तर संवाद सहकार्य भइरहने वातावरण निर्माणका लागि बृहत् उद्देश्यसाथ संयन्त्र बनाइएको उनको भनाइ छ।

“पहिलो कुरा राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्नका लागि बनाइएको होइन। दुई दलले सरकारको नीतिगत प्राथमिकता र संकल्प भनेर एउटा दस्ताबेज तयार गरेका थियौँ, जसमा म पनि थिएँ। सरकारले त्यसलाई आत्मसाथ गरेको छ, त्यसको कार्यान्वयनलाई सहजीकरण गर्ने र दुई दलबीच निरन्तर संवाद सहकार्य भइरहने वातावरणका निर्माणका लागि वृहत् उद्देश्यसाथ संयन्त्र बनेको हो,” उनले भने।

एमालेले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सिफारिस उम्मेदवारको नाम अनुमोदन गरेको छ। सिङ्गो पार्टी पङ्क्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति परिचालन हुन आह्वान गर्ने पनि निर्णय गरेको पनि उपमहासचिव ज्ञवालीले जानकारी दिए।

“छलफलहरू गर्दै जाँदा कुनै निष्कर्षमा पुगिए छ भने बेग्लै कुरा हो नभए आजसम्मको हाम्रो स्थापित मान्यता, हामी एक्लै प्रतिस्पर्धा गर्छौँ र सत्ता सहयात्री दलहरूका बीचमा पनि स्वस्थ प्रतिस्पर्धा हुन्छ भन्ने हाम्रो निष्कर्ष हो,” उनले भने।

त्यस्तै, एमालेले कोशी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि छानबिन गर्न सरकारलाई आग्रह गरेको छ। अधिकारीमाथि लागेका आरोपको वस्तुनिष्ठ, तथ्यपरक र गम्भीर छानबिन गर्न बैठकले सरकारी निकायलाई आग्रह गर्ने निर्णय गरेको उपमहासचिव ज्ञवालीले जानकारी दिए।

अधिकारीमाथि मानव तस्करीको आरोप लागेसँगै उनलाई एमालेले कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको छ। उनले यसअघि नै मन्त्री पदबाट राजीनामा दिइसकेका छन्। वैदेशिक भ्रमणसम्बन्धी मापदण्ड तथा प्रक्रियासमेतको बेवास्ता गरी पदीय मर्यादा विपरीत जापानको भ्रमण गरेको आरोपपछि उनलाई पार्टीले नै मन्त्री पदबाट राजीनामा दिन दबाब दिएको थियो।

उपमहासचिव ज्ञवालीका अनुसार बैठकले अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचन, केही समयअगाडि भएको ब्रिक समिट, अन्तर्राष्ट्रिय परिस्थितिमा आइरहेका केही नयाँ घटनाक्रम र त्यसले नेपालको राष्ट्रिय हितमा पार्ने अनुकूलता र चुनौतीलगायत पछिल्लो राजनीतिक घटना क्रमको समीक्षा गरेको थियो।

बैठकले सरकारले बदलिँदो विश्व राजनीतिको बहावलाई ध्यान दिँदै राष्ट्रिय हितलाई केन्द्र विन्दुमा राखेर दुवै छिमेकीसँग असल सन्तुलित र राष्ट्रिय हितमाथि आधारित राष्ट्र सम्बन्धलाई अगाडि बढाउन जोड दिएको थियो।