यू१९ एशिया कपमा खेल्ने नेपाली टोलीको घोषणा

मंसिर १४ गते यूएईमा आयोजना हुने यू१९ एशिया कप–२०२४ का लागि क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको छ।

काठमाडौँ– पुरुष यू१९ एशिया कप–२०२४ का लागि नेपाली टोलीको घोषणा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एशियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुन लागेको यू१९ एशिया कपका लागि नेपाली टोली घोषणा गरेको हो।

हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरिएको हो। जसको उपकप्तानमा अर्जुन कुमाल रहेका छन्। यस्तै, नेपाली टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव रहेका छन्।

त्यस्तै, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रञ्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ।

टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धीरेन्द्र चन्दले जिम्मेवारी पाएका छन्।

पुरुष यू१९ एशिया कप–२०२४ आगामी मंसिर १४ गतेदेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा आयोजना हुँदैछ। एशिया कपमा घरेलु टोली यूएई, नेपालसहित आठ राष्ट्र सम्मिलित छन्।

आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र यूएई छन्। समूह ‘बी’मा नेपालसहित श्रीलंका, बांग्लादेश र अफगानिस्तान रहेका छन्।

नेपालले मंसिर १४ गते हुने पहिलो खेलमा श्रीलंकाको सामना गर्नेछ। यस्तै, मंसिर १६ गते बांग्लादेश र मंसिर १८ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

दुवै समूहबाट दुई/दुई टोली सेमिफाइनलमा पुग्नेछ। मंसिर १९ गते बुधबार सेमिफाइनलको खेल हुनेछ। सेमिफाइनलबाट दुवै समूहबाट एक/एक टोली फाइनलमा पुग्नेछन्। सेमिफाइनलबाट फाइनमा पुग्ने दुई टोलीबीच मंसिर २१ गते उपाधिको लागि भिडन्त हुनेछ। खेल मंसिर २३ गतेसम्म चल्नेछ।