उचित मूल्य पाउन नसक्दा फापरखेती गर्ने किसान निराश छन्। आधुनिक कृषि प्रणाली र नयाँ प्रविधिको विकाससँगै किसान अन्य नगदे बालीतर्फ आकर्षित भएका छन्।
मुगु– जिल्लामा पहिलेको तुलनामा फापरखेतीको क्षेत्रफलमा उल्लेखनीय गिरावट आएको छ। मुगुको उच्च भू–भागमा उत्पादन गरिँदै आएको प्रचलित फापरखेती अहिले क्रमशः घट्दै गएको हो।
परम्परागत मिठे(गुलियो) फापर पोषणयुक्त अन्नबालीको रूपमा चिनिन्छ। मुगुका किसानले यसलाई परम्परागत रूपमा लगाउँदै आएका थिए। तर किसानहरूले उत्पादनमा कम महत्त्व दिँदा मुगुबाट गुलियो फापर लोप हुने अवस्थामा पुगेको छ।
आधुनिक कृषि प्रणाली र नयाँ प्रविधिको विकाससँगै किसान अब अन्य नगदे बालीतर्फ आकर्षित भएका छन्। गाउँका युवा जनशक्तिमा विदेश जाने प्रचलन बढेको, बजारमा प्रतिस्पर्धा र फापरको तुलनामा अन्य बालीबाट छिटो आम्दानी हुने हुँदा किसानले फापरखेती गर्न छोडेका हुन्।
फापरखेतीबाट राम्रो उत्पादन हुँदाहुँदै पनि यसको उचित मूल्य पाउन नसक्दा किसानमा निराशा बढ्दै गएको छ। “फापर लगाएर महिनौँ कुर्यो तर बेच्दा लागतसमेत उठाउन गाह्रो हुन्छ,” छायानाथ रारा नगरपालिका–७ टोप्लाका किसान प्रभुजङ शाही बताउँछन्।
यसरी परम्परागत खेती घट्दै जाँदा मुगुको संस्कार, पहिचान र खान्कीमा असर पर्ने चिन्ता स्थानीय समुदायमा रहेको छ। उनीहरूले सरकारसँग फापरखेती प्रवर्द्धन गर्न आवश्यक सहयोग, तालिम र बजार व्यवस्थापनको माग पनि गरेका छन्।
विशेषगरी गुलियो फापर स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिन्छ। गुलियो फापर सेवनले दम, रुघाखोकी, मुटुरोग निको पार्ने परम्परागत विश्वास छ। तर उचित संरक्षण र उत्पादनको मूल्यभन्दा लागत बढी हुँदा मिठेफापर उत्पादनप्रति चासो घटेको किसानको धारणा छ।
यस जिल्लाका उच्च स्थान, पिना, कोटिल्ना, मुन्दु, लिउडी, घट्टललेक, तलिलेक, रोबा, सोबा, टोप्ला , माथितुमलगायतका क्षेत्रमा फापरखेतीको लागि उपयुक्त स्थान मानिन्छ। हाल तितेफापर सामान्य रूपमा गरिँदै आए पनि मिठेफापरको खेती हाल फाटफुट रूपमा गर्ने गरिएको छ।
मिठेफापरबाट ढेस्सु, लगड जस्ता स्थानीय परिकार बनाएर खाना नखाने बालबालिका, बिरामी, ज्येष्ठ नागरिकलाई पौष्टिक आहारको रूपमा खुवाइन्थ्यो। पाहुना जाँदा या घरमा पाहुना आउँदा मिठेफापर र यसबाट बनेका परिकार नासो दिइने गरिन्थ्यो। मिठेफापरको खेती हुन छोडेपछि यी संस्कार, परम्परा र खान्कीसमेत लोप हुँदै गएको पिना गाउँका स्थानीय लोकेन्द्रबहादुर बम सुनाउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
