युक्रेनले गर्‍यो मस्कोमा ड्रोन आक्रमण

युक्रेनी ड्रोन आक्रमणबाट एक महिला घाइते हुनुका साथै मस्कोको स्टानोभोय गाउँका दुई घरमा आगजनी भएको रुसी अधिकारीहरूले बताएका छन्।

युक्रेनले रुसको राजधानी मस्कोमा ड्रोन आक्रमण गरेको छ। रुसले युक्रेनद्वारा प्रहार गरिएका ३४ वटा ड्रोन आफ्नो हवाई रक्षा प्रणालीले खसालिदिएको बताएको छ।

रुसले यो आक्रमणलाई सन् २०२२ मा युक्रेनमा आक्रमण शुरू भएयताकै सबैभन्दा ठूलो आक्रमण भनेको छ। युक्रेनी आक्रमणबाट मस्को तीन वटा विमानस्थल अस्थायी रूपमा बन्द गर्न बाध्य भएको थियो। उक्त आक्रमणमा ५२ वर्षीया एक महिला घाइते भएकी छन्। साथै, मस्कोको स्टानोभोय गाउँका दुई घरमा आगजनी भएको अधिकारीहरूले बताएका छन्।

युद्धमा युक्रेनको राजधानी किभमा रुसबाट व्यापक ड्रोन र क्षेप्यास्त्र आक्रमण हुने गरेको भए पनि मस्कोमा भने कम आक्रमण हुने गरेको छ।

युक्रेनी ड्रोनलाई ग्रिनविच समयअनुसार ४ः०० देखि ७ः०० बीचमा ६ वटा क्षेत्रमा खसालेको रुसको हवाई रक्षा मन्त्रालयले जनाएको छ।

मस्को क्षेत्रमा ३४ र ब्रायन्स्क, ओर्लोभ, कालुगा, तुला र कुस्र्कमा पनि सोही संख्यामा ड्रोन आक्रमण भएको रुसले पुष्टि गरेको छ।

मस्को क्षेत्रका स्थानीय अधिकारीले रामेन्सकोय, कोलोम्ना र डोमोडेडोभो क्षेत्रमा ड्रोन खसालेको बताएका छन्।

रुसी सञ्चारमाध्यमले अनलाइनमा सार्वजनिक गरेको भिडियोमा रामेन्सकोय जिल्लामा रहेको एक घरमा आगो लागेको देखिएको छ।

गत सेप्टेम्बरमा मस्कोनजिकै व्यापक रूपमा भएको अर्को ठूलो ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको थियो । द्वन्द्व शुरू भएयता राजधानी नजिकै युक्रेनी आक्रमणमा मृत्यु भएको त्यो पहिलो घटना थियो।

सन् २०२३ को मेमा क्रेमलिननजिकै दुई वटा ड्रोन नष्ट गरिएको थियो। सोही वर्ष मस्को सिटीको व्यापारिक क्षेत्रमा थुप्रै ड्रोन आक्रमण भएका थिए।