कैलालीमा कुटपिटबाट एकको मृत्यु, पाँच जना पक्राउ

कुटपिटबाट घाइते भएका कैलालीको गौरीगंगा नगरपालिका–११ का सुरेश भुलको उपचारका क्रममा मृत्यु भएको छ।

सुदूरपश्चिम– कुटपिटबाट घाइते भएका कैलालीको गौरीगंगा नगरपालिका–११ का ३० वर्षीय सुरेश भुलको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार कुटपिटबाट घाइते भुलको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको हो।

बाख्रा चोरेको आरोपमा भुललाई शनिबार राति सोही ठाउँमा सामूहिक कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बोहराले बताए।

कुटपिटमा संलग्न आरोपमा सोही ठाउँका धर्म विक, विशाल विक, जंग भुल, प्रकाश भुल र रमा रावललाई प्रहरीले पक्राउ गरेको छ।

मृतक भुल सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीको सदस्य र राष्ट्रिय दलित पत्रकार संघका जिल्ला सहसचिव रहेको जनाइएको छ।

राष्ट्रिय दलित पत्रकार संघ कैलालीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेको छ।