पर्यटक र पूर्वाधारको पर्खाइमा म्याग्दीको चांगाधुरी

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पाखु, सिर्कुम हुँदै एक घण्टा ३० मिनेट मोटरसाइकल तथा जिपमा यात्रा गरेपछि चांगा पुग्न सकिन्छ।

म्याग्दी– मंगला गाउँपालिका–५ स्थित चांगाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ। समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चांगा पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको छ। 

पहाडको शिरमा भिरालो पाखामा रहेको चांगाको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरि र माछापुच्छ्रे हिमाल तथा सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ। दरबाङ, बाबियाचौर, तातोपानी बजार, नागबेली परेर बगेको म्याग्दी नदीको किनारबाट पहाड र हिमालको दृश्य देख्न पाइन्छ।

चांगाबाट देखिने मनमोहक हिमशृंखला, शान्त र एकान्त वातावरणले मन चंगा हुने त्यहाँ घुम्न गएका बेनीका दिप्सन खड्काले बताए। “चिसो हावापानी पृष्ठभूमिमा देखिने हिमालको लामो लर्कनले मोहित बनायो,” उनले भने, “यात्राको थकान मेटियो। दुःख बिर्सायो। समय बितेको पत्तै भएन।” जडीबुटी, वन पैदावार, वन्यजन्तु र पक्षीको अवलोकन गर्न पाउनु चांगाको थप विशेषता रहेको उनले उल्लेख गरे।

चांगाको बराह मन्दिरको धार्मिक महत्त्व छ। भेडा, बाख्रा र गाईभैँसीका गोठ, स्थानीयवासीको जीवनशैली, संस्कृति र रहनसहन पनि पर्यटक लोभ्याउने माध्यम हुन्। खाजाखाना खाने रेस्टुरेन्ट र बास बस्न लज, सार्वजनिक शौचालय, सूचना बोर्ड, खानेपानी आदिको व्यवस्थापन गर्न सकेमा पर्यटकलाई सहज हुने बेनीबाट चांगा घुम्न गएका किरण कार्कीले बताए। 

पूर्वाधारको व्यवस्थासँगै प्राकृतिक सौन्दर्यताका विषयमा प्रचारप्रसार आवश्यक रहेको उनको भनाइ छ। चांगा घुम्न जाने पर्यटक फेदीमा रहेको सिर्कुममा बास बसेर पैदलयात्रा र सडकमार्फत चांगा पुग्ने गर्दछन्। 

पाहुनालाई आलु, मुला, भाँगो, टुसा, च्याउ, सिमीको दाल, ढिँडो, गौरीया र गुडुरा चामलको भात, स्थानीय कुखुराको मासुका परिकार चखाउने गरिएको सिर्कुमका बासिन्दा दीपेन्द्र जिसी बताउँछन्। 

मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरबाट पाखु, सिर्कुम हुँदै एक घण्टा ३० मिनेट मोटरसाइकल तथा जिपमा यात्रा गरेपछि चांगा पुग्न सकिन्छ। बाबियाचौरबाट शेराफाट–पीपलबोट–पाखु–सिर्कुम हुँदै चार घण्टामा चांगा पुग्ने पदमार्ग पनि छ। 

मंगला गाउँपालिका–५ का वडाध्यक्ष भूपेन्द्र खत्रीले चांगा जोड्ने सडक स्तरोन्नति र पदमार्गलाई व्यवस्थित गरेर वनभोज, हाइकिङ र क्याम्पिङ गर्ने पर्यटक भित्र्याउन पहल गरिएको बताए।

चांगामा बागलुङको ताराखोला गाउँपालिकाको सिमानामा रहेको तिनचुले र मंगला–४ मा रहेको गम्फाधुरीको एकीकृत पर्यटन विकासको योजनाअनुसार काम भइरहेको उनको भनाइ छ।