हरिबोधिनी एकादशी पर्व मनाइँदै, देशभरका नारायण मन्दिरमा घुइँचो

हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गरिन्छ।

काठमाडौँ– हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मंगलबार दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले यस एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशीसमेत भनिने शास्त्रमा उल्लेख छ। 

हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गरिन्छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो। तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिंग गाडेर पूजा गरिन्छ। कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन्। तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ। कोरोना, डेंगीजस्ता रोगबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले बताए। 

कात्तिकमा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। यस दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ।

किसानले उखुको बोट मठमा गाड्छन्। आज अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ। यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ।    

कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं पापबाट मुक्ति मिल्ने प्रसंग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए।

यस अवसरमा भक्तपुरको चाँगुनारायण, ललितपुरको विशंखुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्छ। यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ। देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ।