कञ्चनजंघा पर्यटक बढे, होटल व्यवसाय चलायमान

कञ्चनजंघा भ्रमणमा आन्तरिक पर्यटकको संख्या पनि बढिरहेको छ। दशैँतिहारको समयमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल देखिएको छ।

फुङलिङ– विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। आन्तरिक तथा बाह्य पर्यटक दुवैको उपस्थितिले यस क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उचाइ थपेको छ।

वर्षभरि कञ्चनजंघा क्षेत्रमा दुई मुख्य पर्यटकीय मौसम छन्। पहिलो याम चैत, वैशाख र जेठमा हुन्छ भने दोस्रो भदौदेखि मंसिरसम्म चल्छ। भदौयता ७५० विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा पुगेका छन्।  कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा जाँचचौकी (चेकपोस्ट) कार्यालयको तथ्यांक छ। आन्तरिक पर्यटकको संख्या भने विदेशी पर्यटकको दोब्बर रहेको स्थानीय व्यवसायी बताउँछन्। 

परिषद्का पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार यसपटकको भ्रमणमा मुख्यतया फ्रान्स, अस्ट्रेलिया, जर्मनी र अमेरिकाजस्ता देशबाट पर्यटक आएका छन्। गत वर्षका तुलनामा यस वर्ष अझ बढी पर्यटक आएका छन्, यसले स्थानीय व्यवसायीलाई पनि उत्साहित बनाएको पर्यटन व्यवसायी पेमा शेर्पाले बताए।

कञ्चनजंघा भ्रमणमा आन्तरिक पर्यटकको संख्या पनि बढिरहेको छ। दशैँतिहारका समयमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल देखिएको छ। दशैँतिहारका बेला विशेषगरी स्थानीय र नेपाली पर्यटकले परिवारसहित कञ्चनजंघा आधार शिविरको यात्रा गर्छन्। होटल व्यवसायी सेराप शेर्पाका अनुसार चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजंघा क्षेत्रका होटल र लज पूर्ण रूपमा भरिएका थिए। 

गत वर्षको तुलनामा यस वर्ष आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा २० प्रतिशत वृद्धि भएको सदरमुकाम फुङलिङका होटल सञ्चालक विमल भण्डारीले बताए। “कञ्चनजंघा भ्रमणका लागि आएका पर्यटकले हाम्रो होटल व्यवसायलाई चलायमान बनाएको छ,” उनले भने।

होटल, रेस्टुराँ, ट्रेकिङ गाइड, पोर्टर र हस्तकला व्यवसायमा वृद्धि भएको छ। पदमार्गमा सञ्चालित होटलमा पर्यटकको बाक्लो उपस्थिति देखिन्छ। स्थानीय पर्यटन व्यवसायीका अनुसार यसपटकको सिजनमा होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ।

पर्यटन व्यवसायी फुपुछोहाङ शेर्पाका अनुसार कञ्चनजंघा पर्यटक आगमनले ट्रेकिङ गाइड र पोर्टर पनि लाभान्वित भएका छन्। त्यस्तै यातायात व्यवसायीसमेत लाभान्वित भएका छन्। मौसम प्रतिकूल नभएसम्म गाइड र पोर्टरले राम्रो आम्दानी गर्ने अवसर पाउँछन्। पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार विदेशी पर्यटक प्रायः लामो अवधि बस्ने हुँदा गाइड, पोर्टर र टेन्सनको माग पनि बढेको छ। 

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनमा काम गरिरहेको छ। स्थानीय व्यवसायी पनि पर्यटकीय पूर्वाधार सुधार गर्न सक्रिय छन्।

पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरिँदै आएका छन्। हिमाली पर्वतारोहण मेला, सांस्कृतिक महोत्सव र स्थानीय उत्पादनको प्रदर्शनीजस्ता कार्यक्रम समावेश छन्। यस्ता गतिविधिले पर्यटकलाई आकर्षित गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको परिषद्ले जनाएको छ।