पूजा महतोको शतकमा नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

नेपाली कप्तान पूजा महतो ६९ बलमा १७ चौकासहित १३० रनमा अविजित रहिन्। उनले ५७ बलमा शतक पूरा गरेकी थिइन्।

काठमाडौँ– यूएईमा जारी आईसीसी यू१९ महिला टी२० विश्वकप छनोटमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ। 

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २१३ रन बनाएको हो। नेपालकी कप्तान पूजा महतोले शतकीय योगदान दिइन्। उनले ५७ बलमा १२ चौकाको मद्दतमा १०० रन पूरा गरेकी थिइन्। यो कुनै पनि नेपाली महिला क्रिकेटरले बनाएको दोस्रो शतक हो।

 यसअघि सिनियर टिममा रुविना क्षेत्रीले २०२३ को एसीसी प्रिमियर कपमा मालदिभ्सविरुद्ध शतक हानेकी थिइन्। उक्त खेलमा रुविना ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नटआउट रहेकी थिइन्। 

पूजा ६९ बलमा १७ चौकासहित १३० रनमा अविजित रहिन्। सोनी पाख्रिनले ३३ बलमा २ चौकाको मद्दतमा ४३ रन जोडिन्।