कुवेतमाथि नेपाल १६५ रनले विजयी

नेपालका लागि कप्तान पूजा महतोले ४ ओभरमा १ मेडनसहित ८ रन खर्चिएर ५ विकेट लिइन्।

काठमाडौँ– यूएईमा जारी महिला यू१९ टी२० विश्वकप एशिया छनोटअन्तर्गत नेपालले कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा कुवेतलाई १६५ रनले पराजित गरेको छ।

नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रन बनाएर अलआउट भयो। कुवेतका लागि कप्तान जिफा जिलानीले ४२ बलमा ३६ रन बनाउन बनाइन्। 

नेपालका कप्तान पूजाले ४ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिइन्। रचना चौधरी र सिमाना केसीले समान २–२ विकेट लिए। 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनाएको थियो। 

नेपालका लागि पूजाले ६९ बलमा १७ चौकासहित नटआउट १३० रन बनाइन्। सोनी पाख्रिनले ३३ बलमा ४३ रन बनाइन्।