बिनाविभागीय मन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न बागमतीमा मन्त्रालय विभाजन

बिनाविभागीय मन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिं लामाले मन्त्रालयको संख्या बढाएर १४ पुर्‍याएका छन्।

मकवानपुर– बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ।

मंगलबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो।

बिनाविभागीय मन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मुख्यमन्त्री बहादुर सिं लामा नेतृत्वको सरकारले मन्त्रालयको संख्या बढाएको हो। यससँगै प्रदेशमा मन्त्रालयको कुल संख्या १४ पुगेको छ।

विना विभागीय मन्त्री श्रेष्ठलाई छिट्टै मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी प्रदान गर्ने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

श्रेष्ठ कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनले गत साउन ९ गते बिनाविभागीय मन्त्रीको शपथ लिएका छन्।