बागमती सफाइको ५०० हप्ता पूरा : निकालियो २० हजार टन फोहर

नाै वर्षअघि शुरू भएकाे बागमती सफाइ महाअभियानमा हालसम्म १५ लाखले स्वयंसेवकका रूपमा फाेहाेर संकलन गरेका छन्। नदी किनारमा १० हजारभन्दा बढी बिरुवा रोपिएको छ।

फाइल तस्वीर

काठमाडौँ– बागमती सफाइ महाअभियानले ५०० हप्ता पूरा गरेको छ।  यस अवधिमा बागमती सफाइ गरेर २० हजार टन फोहर निकालिएको छ।

बागमती सफाइ महाअभियान २०७२ जेठ ५ मा शुरू भएको थियो। त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाइ गरिँदै आएको छ। म्हाअभियानको ५०० हप्ता पूरा हुँदा पनि बागमती सफा हुन सकेको छैन। हालसम्म १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा बागमती नदीको फोहर संकलन गरेका छन्।

नागरिकहरू स्वतःस्फूर्तरूपमा अभियानमा सहभागी भइरहेको अभियानकर्मी राम साह बताउँछन्। सफाइ महाअभियानका क्रममा नदी किनारमा १० हजारभन्दा बढी बिरुवा रोपिएको छ। वृक्षरोपणका कारण नदी किनारमा हरियाली छाएको छ। जागरणमूलक बागमती सफाइ महाअभियानबाट प्रभावित भएर मुलुकभर १०० भन्दा बढी स्थानमा सफाइ अभियान थालिएको साह बताउँछन्। 

सफाइ महाअभियानबाट नदी किनारको अतिक्रमित जग्गा फिर्ता गरिएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमार्फत नदी किनारको दायाँ बायाँ २७ किलोमिटर ढल निर्माण गरिएको छ। एशियाली विकास बैंकको ऋण सहयोगमा सुरु भएको बागमती सौन्दर्यीकरण कार्यक्रम किनारमा रहेका सुकुम्बासीका कारण प्रभावित भएको छ।

अधिकार सम्पन्न बागमती सभ्यताको  सञ्चालक सदस्यसमेत रहेकी सफाइ अभियानकर्मी डा. माला खरेल नदी किनारका सुकुम्बासीको व्यवस्थापन गरेर सुन्दरता बढाउन सूचना सार्वजनिक गरी काम भइरहेको बताउँछिन्।

काठमाडौँ महानगरको समेत सहयोग लिएर छिटो सुन्दरता बढाउन नदी किनारका सार्वजनिक जग्गा खाली गर्न लागिएको उनले सुनाए।