उत्तर कोरियाले अनुमोदन गर्‍यो रुससँगको सुरक्षा सम्झौता

केसीएनएका अनुसार रुससँगको सुरक्षा सम्झौतालाई नेता किम जोङ उनको आदेशका रूपमा अनुमोदन गरिएको हो।

उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ जसले दुवै देशको सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ। यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्धको लडाइँमा मद्दत गर्न हजारौँ सैनिक पठाएको हो।

यो सम्झौताले शीतयुद्धदेखि सहयोगी रहेका दुई समाजवादी मुलुकबीच महिनौँदेखिको सैन्य सम्बन्धलाई औपचारिकता दिएको छ।

सियोल र सहयोगी अमेरिकाले आणविक शक्ति सम्पन्न उत्तर कोरियाले रुसमा हजारौँ सैनिक पठाएको आरोप लगाउँदै आएका थिए। उत्तर कोरियाली सैनिकलाई रुसी पोसाकमा सुसज्जित गरी कुस्र्क नजिकैको सीमामा जम्मा गरिएको ती मुलुकका सैनिक अधिकारीले बताएका छन्। 

कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार उक्त सम्झौतालाई नेता किम जोङ उनको आदेशका रूपमा अनुमोदन गरिएको हो।

राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गरेको उक्त सम्झौतालाई अनुमोदन गर्न गत साता रुसी सांसदले सर्वसम्मतिले मतदान गरेपछि उत्तर कोरियाका तर्फबाट यो सूचना आएको हो। केसीएनएले भनेको छ, “दुवै पक्षले अनुमोदनका लिखत आदानप्रदान गरेको दिनदेखि यो सम्झौता लागू हुने बताइएको छ।”

उत्तर कोरिया युक्रेनमा रुसको आक्रमणको सबैभन्दा मुखर र महत्त्वपूर्ण समर्थक बनेको छ।

पश्चिमा राष्ट्रहरूले लामो समयदेखि मस्कोलाई युक्रेनमा प्रयोग गर्नका लागि तोपका गोला र क्षेप्यास्त्र आपूर्ति गरेको आरोप प्योङयाङलाई लगाउँदै आएका थिए। तर हालैका हप्तामा हजारौँ उत्तर कोरियाली सैनिक युद्धमा प्रत्यक्ष संलग्न हुन तयार भएपछि यो समर्थन बढेको छ।

जुनमा क्रेमलिन प्रमुखको उत्तर कोरिया भ्रमणका क्रममा रणनीतिक साझेदारी सन्धिमा हस्ताक्षर गरेका थिए। सन्धिले दुवै देशलाई एकअर्कामाथि आक्रमण भएमा ‘अविलम्ब’ सैन्य सहायता प्रदान गर्न र पश्चिमी प्रतिबन्धको विरोध गर्न अन्तर्राष्ट्रिय रूपमा सहयोग गर्ने बाटो खोलेको छ। पुटिनले गत जुनमा भएको सम्झौतालाई ‘ब्रेक थ्रु डकुमेन्ट’ को संज्ञा दिएका थिए।

कोरिया इन्स्टिच्युट फर नेसनल युनिफिकेसनका वरिष्ठ विश्लेषक होङ मिनले भने, “द्विपक्षीय सम्झौता अनुमोदनसँगै प्योङयाङ र मस्कोले रुसमा उत्तर कोरियाको सैन्य तैनाथीका लागि वैधता दाबी गर्नेछन्।”