गाजामा इजरायली आक्रमणको निन्दा, इरानको पक्षमा उभिए मोहम्मद बिन सलमान

विश्व राजनीतिमा प्रभावशाली मानिने साउदी लगायत अन्य अरब देश सशक्त रूपमा प्यालेस्टाइन र इरानको पक्षमा उभिनुलाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोसाथ हेरेको छ।

साउदी अरेबियाले इजरायल–प्यालेस्टाइन मुद्दामा आफ्नो पछिल्लो धारणा बदलेको छ। अरब लिग र इस्लामिक सहयोग संगठनद्वारा आयोजित सम्मेलनमा सहभागी साउदी अधिराज्यको ‘डी-फ्याकटो’ शासक मानिने मोहम्मद बिन सलमानले गाजामा नरसंहार भइरहेको बताउँदै निरन्तरको इजरायली आक्रमणको निन्दा गरेका छन्। 

यसले अरब र इस्लामिक राष्ट्रहरूले संगठित रूपमा प्यालेस्टाइनको मुद्दालाई गम्भीरतापूर्वक लिएको देखिएको छ। उनको पछिल्लो बयान यस कारणले पनि अर्थपूर्ण छ कि केही महिनाअगाडि द एट्ल्यान्टिकमा प्रकाशित रिपोर्टअनुसार युवराज मोहम्मदले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग केही महिनाअगाडि भएको भेटका दौरान ‘आफूले प्यालेस्टाइन मुद्दाबारे व्यक्तिगत रूपमा वास्ता नगर्ने’ बताएका थिए। 

यसैगरी रियादले केही समयदेखि इजरायलसँग सम्बन्ध सुधार गर्ने प्रयत्न पनि गरिरहेको थियो। अहिले साउदीका तिनै युवराजले ‘जारी इजरायली आक्रमणको विनाशकारी मानवीय परिणामहरू झेलिरहेका प्यालेस्टिनी र लेबनानी दाजुभाइका साथ साउदी अरब आफ्नो समर्थनको पुष्टि गर्दछ,’ भनेर सार्वजनिक मञ्चमा भनेपछि यस घटनाक्रमलाई विश्वभरकै सञ्चारमाध्यमले निकै महत्त्व दिएका छन्।  

सम्मेलनमा साउदी युवराजले लेबनान र इरानमा इजरायली आक्रमणको पनि आलोचना गरेका थिए। विश्व राजनीतिमा प्रभावशाली मानिने साउदी लगायत अन्य अरब देश सशक्त रूपमा प्यालेस्टाइन र इरानको पक्षमा उभिनुलाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोसाथ हेरेको छ।

उनले इजरायललाई इरानको सार्वभौमसत्ताको सम्मान गर्न र इरानी भूमिमा आक्रमण नगर्न आग्रह गरेका थिए भने जेरुसेलमलाई गाजामा नरसंहारको गरेको आरोप लगाउँदै आलोचना गरेका थिए। स्मरण रहोस्, इरान र साउदी अरेबिया बीचको द्विपक्षीय सम्बन्ध क्षेत्रीय नेतृत्वको आकांक्षा, तेल निर्यात नीति र संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी देशहरूसँगको सम्बन्ध जस्ता धेरै भूराजनीतिक मुद्दाहरूमा देखिएको बेमेलका कारण तनावपूर्ण रहिआएको छ।

सुन्नी मुस्लिम बाहुल्य साउदी अरेबिया र सिया बहुल इरानले सिरियालगायत क्षेत्रीय द्वन्द्वमा विरोधी ध्रुवमा देखिएका थिए भने यमनमा चर्किएको द्वन्द्वपछि यी दुई शक्तिशाली अरब देशको सम्बन्ध निकै चिसिएको थियो। 

साथै, बिन सलमानले इस्लामिक गणतन्त्र इरानको सार्वभौमसत्ताको सम्मान गर्न र यसको भूमि उल्लङ्घन नगर्न अन्तर्राष्ट्रिय समुदायले इजरायललाई दबाब दिन आह्वान गरेका थिए। 

सम्बन्धित: एकोहोरो महत्त्वाकांक्षा, दोहोरो चरित्र: ‘एमबीएस’

उक्त संगठनले यस विषयमा पहिलो सम्मेलन गरेको एक वर्षपछि प्यालेस्टिनी राज्य स्थापना गर्न दबाब दिन आयोजित अरब र मुस्लिम नेताहरूको शिखर सम्मेलनमा युवराज मोहम्मद बिन सलमानले उक्त टिप्पणी गरेका हुन्।

डोनाल्ड ट्रम्पको व्हाइट हाउसमा फिर्ती हुने पृष्ठभूमिमा सम्पन्न शिखर सम्मेलनलाई अमेरिकालगायत विश्वसमुदायले चासोसाथ हेरेका छन्। खाडी देशका नेताले इजरायलसँग निकट सम्बन्ध भएका ट्रम्पसँग राम्रो सम्बन्ध कायम गरेका छन् र अब उनको 'प्रभावकारी देखिन चाहने' बानी र इजरायलमाथि उनको पकडलाई उपयोग गर्दै यस क्षेत्रमा जारी द्वन्द्व अन्त्य होस् भन्ने चाहन्छन्।