पूर्वमन्त्री अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप

काठमाडौँ जिल्ला अदालतले कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको समय दिएको छ।

काठमाडौँ– कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थप गरेको छ।

अधिकारीमाथि अवैध रूपमा नेपाली नागरिकलाई जापान पठाएको गिरोहसँग संलग्नताको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ।

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री अधिकारीलाई मंगलबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएका थियो। अदालतले अधिकारीमाथि थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको समय दिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

यसअघि आइतबार दुई दिनको म्याद थप गरिएको थियो। अधिकारीलाई विराटनगरबाट पक्राउ गरी आइतबार काठमाडौँ ल्याइएको थियो। उनीसँगै अन्य पाँच जना पनि सोही प्रकरणमा पक्राउ परेका प्रहरीले जानकारी दिएको छ।

यही कात्तिक १३ गते जापान जाने क्रममा त्यहाँको विमानस्थलबाट अधिकारीसहितका व्यक्तिहरू फिर्ता भएका थिए।