दोहोरो अंकले घट्यो शेयरबजार, झन्डै ८ अर्बको कारोबार

मंगलबार पनि घटेको नेप्से आज फेरि १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा झरेको छ।

काठमाडाैँ– बुधबार शेयरबजार परिसूचक नेप्से घटेर बन्द भएको छ। मंगलबार पनि घटेको नेप्से आज फेरि १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा झरेको छ।

नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ। हिजो ७ अर्ब ८५ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँ बराबरको १ करोड ५३ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटे पनि ५ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। सप्तकोशी डेभलपमेन्ट बैंक, श्रृजनशील लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, मकर जितुमाया सुरी हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस रावा इनर्जी डेभलपमेन्ट र बलेफी हाइड्रोपावरको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२० प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूह १.४२ प्रतिशतले बढेको  छ।

बैंकिङ, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ।