जलवायु जोखिमबाट जोगिन पर्वतीय र सामुद्रिक देश साझा कार्यक्रम बनाउन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रूपमा काम गर्न आह्वान गरेका छन्।

बाकु– राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रूपमा काम गर्न आह्वान गरेका छन्।

अजरबैजानको बाकु शहरमा गत सोमबारबाट शुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले बुधबार यहाँ आयोजना गरेको ‘माउन्टेन इन पेरिल, एड्रेसिङ लस एन्ड डयामेज इन द हिमालय’ (पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन)  शीर्षकको उच्चस्तरीय राउन्ड टेबल बैठकलाई सम्बोधन गर्दै उनले सो आह्वान गरेका हुन्।

"पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने र सामुद्रिक किनार माथि उठ्न सक्ने भएकोले आउदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न म हार्दिक आह्वान गर्दछु," राष्ट्रपति पौडेलले भने।

उनले मुख्य गरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रको लागि बढी सहयोग गर्नुपर्ने बताए। "बढीभन्दा बढी जलवायु वित्तको व्यस्थापन गर्न २९औF जलवायु सम्मेलन सफल हुने मेरो विश्वास छ," उनले भने।

जलवायु परिवर्तन सबैको साझा चुनौती भएको र यसको सामाना गर्न हामी सबैको साझा बुझाई र साझा प्रयास बनाउनुपर्ने भएकोले यस कार्यक्रमको आयोजना गरिएको उनको भनाइ थियो। त्यस्तै, विगत ३ महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र ५०० भन्दा बढी मानिसले ज्यान गुमाउन पुगेको र खर्बभन्दा बढीको हानी नोक्सानी भएको बताए।

यस हानिनोक्सानीबारे बुझ्न भर्खरै स्पेनमा भएको बाढी र डुबान तथा गत जुलाइमा क्यारेबियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि हुने उनको धारणा थियो। साथै, राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकोले हानिनोक्सानीलाई जलवायु वित्त व्यवस्थापनका लागि नया समष्टिगत संख्यामातक लक्ष्यमा हानिनोक्सानी समेत  समेट्न विशेष आह्वान गरे।

अन्त्यमा उनले प्रकृतिको संरक्षणका लागि विश्वलाई अपील गर्दै भने:
ॐ द्यौः शान्तिरन्तरिक्षं शान्तिः
पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः।
वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिर्ब्रह्म शान्तिः
सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि।।
ॐ शान्तिः शान्तिः शान्तिः।।

कोप २९ सम्मेलनमा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन आज यहाँ राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको हो। सो अवसरमा वन तथा वातारण मन्त्री ऐनबहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा किर्दीस्तानका राष्ट्रपतिलगायत विभिन्न देशका मन्त्री तथा प्रतिनिधिले जलवायु परिवर्तनको असर न्युनीकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए।