राजनीतिक वातावरण बिथोलेको भन्दै ट्विटरको प्रयोग नगर्ने ‘द गार्डियन’को निर्णय

राजनीतिक वातावरणलाई प्रभावित पार्न ट्विटरका मालिक एलन मस्कले त्यसको प्रयोग गर्ने गरेको गार्डियनको भनाइ छ।

बेलायती अखबार ‘द गार्डियन’ले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ (ट्विटर)मा अब कुनै पनि कुरा पोस्ट नगर्ने जनाएको छ।

“हामीले हाम्रो आधिकारिक सम्पादकीय खाताबाट एक्समा पोस्ट गर्न बन्द गरेका छौँ। तर एक्स प्रयोगकर्ताहरूले हाम्रो समाचारहरू शेयर गर्न सक्छन्,” गार्डियनले लेखेको छ, “हामीलाई लाग्छ अहिले एक्समा नकारात्मकता बढी छ। हामी हाम्रो पत्रकारितालाई थप प्रवद्र्धन गर्न स्रोतसाधनको राम्रोसँग प्रयोग गर्न सक्छौँ।”

एक्समा विचलित पार्ने सामग्री धेरै हुन थालेपछि आफूहरूले यसबारेमा लामो समयदेखि सोचिरहेको गार्डियनले जनाएको छ। साथै यसमा अति दक्षिणपन्थी प्रचार र नस्लवादसँग सम्बन्धित सामग्री पनि समावेश हुने गरेको र यसलाई अमेरिकी चुनावले पनि प्रमाणित गरिसकेको गार्डियनको आरोप छ।

“एक्स एक विषाक्त प्लेटफर्म हो र यसको मालिक एलोन मस्कले यसलाई राजनीतिक वातावरणलाई प्रभाव पार्न प्रयोग गर्न सक्छन्,” बुधबार एक्समा शेयर गरेको अन्तिम लेखमा गार्डियनले भनेको छ। यद्यपि, द गार्डियनले आफ्ना रिपोर्टरहरूले समाचार संकलन गर्न एक्सको प्रयोग गर्न सक्ने जनाएको छ।

एक्समा गार्डियनका एक करोड भन्दा धेरै फलोअर छन्। गार्डियनको यस्तो निर्णयपछि एलन मस्क ट्विटरमा विभिन्न ‘मिम’ शेयर गर्दै व्यंज्ञ गरिरहेका छन्।

मस्कले शेयर गरेको  एक मिमको क्याप्सन छ, “एक्सका प्रयोगकर्ता पहिलेभन्दा बढेका छन्। मान्छेहरू अहिले विरासत बोकेका मिडियाका झुटा समाचारबाट बिरामी परेका छन्।” उनले यस्ता थुप्रै मिम तथा ट्वीट शेयर गरिरहेका छन्।