नागढुंगा सडक १ साता आंशिक रूपमा बन्द हुने

नागढुंगा सडक बिहीबारदेखि मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुन नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ। 

काठमाडौँ– नागढुंगा सडक बिहीबारदेखि मंसिर ५ गतेसम्म दिनमा आंशिक रूपमा बन्द हुने भएको छ। 

नागढुंगा सुरुङमार्गको पश्चिम पोर्टल त्रिभुवन राजमार्गअन्तर्गत धादिङको सिस्ने खोलामा स्लोप कटिङ गर्नुपर्ने भएकाले सडक बन्द गरिने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।

सो आयोजनाले सूचना प्रकाशित गरी बिहीबारदेखि उक्त सडक आउँदो मंसिर ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा बन्द हुन जनाएको छ। 

उक्त अवधिको २० मिनेट भने दुवैतर्फ सडक बन्द हुने सूचनामा उल्लेख गरिएको छ। यसैगरी २०/२० मिनेटमा खोल्ने र बन्द गर्ने गरी काम गरिने आयोजनाले जनाएको छ।

सडक बन्द हुँदा वैकल्पिक सडक प्रयोग गर्नसमेत आयोजनाले सूचनामार्फत आग्रह गरेको छ।