राष्ट्रपति रामचन्द्र पौडेलले सबै विकसित मुलुकलाई जलवायु परिवर्तनका असर सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन्।
बाकु– राष्ट्रपति रामचन्द्र पौडेलले सबै विकसित मुलुकलाई जलवायु परिवर्तनका असर सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन्।
अजरबैजानको बाकु शहरमा यही कात्तिक २६ गतेबाट शुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप२९) मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पुगेका राष्ट्रपति पौडेलले गणतन्त्र अजरबैजानका उनका समकक्षी ईलहाम अलियेफसँग बाकुमा बिहीबार भएको भेटवार्तामा यस्तो आग्रह गरेका हुन्।
“जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको पूर्ण प्रतिबद्धता छ, विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्षअगावै सन् २०४५ सम्म नेपालले शून्य कार्बन उत्सर्जनको उपलब्धि हासिल गर्ने लक्ष्य राखेकाले हामी सबै विकसित मुलुकहरूलाई जलवायु परिवर्तनका असरहरू सम्बोधन गर्न व्यक्त गरिएका आफ्ना प्रतिबद्धताहरू पूरा गर्न आग्रह गर्दछौँ,” उनले भने।
राष्ट्रपति पौडेलले नेपालले अत्यन्त न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो प्रभाव व्यहोरिरहेको बताए। उनले हिमालमा भएका हिउँ पग्लिरहेको, तल्लो तटीय क्षेत्रका जनसंख्यालाई स्वच्छ खानेपानीको स्रोत घटिरहेको एवं जलवायु परिवर्तनबाट निःसृत प्राकृतिक विपद्बाट हरेक वर्ष ठूलो जनधनको क्षति भइरहेको जानकारी गराए। उनले यस वर्ष पनि बेमौसमी भारी वर्षाका कारण नेपालले देशव्यापी जनधनको ठूलो क्षति व्यहोर्नुपरेको स्मरण गरे। “सरकारले हरेक वर्ष बजेटको ठूलो हिस्सा जलवायुबाट प्रभावित जनसंख्याको लागि खर्च गर्नु परिरहेको छ,” उनले भने।
उनले पर्वतीय भू–बनोट तथा भू–परिवेष्टित अवस्थितिका कारण हामीबीच भौगोलिक समानता मात्र नभई पर्वतीय मुलुकले सामना गर्नुपरेका संरचनागत चुनौती र अवसर पनि समान रहेको उल्लेख गरे। “जलवायु परिवर्तन विश्वको साझा मुद्दा हो, पर्वतीय भूभाग रहेको हाम्रा दुवै मुलुकले जलवायु परिवर्तनका खराब असर सामना गर्नु परिरहेको छ,” उनले भने, “नेपालले पर्वतीय मुलुकहरूले सामना गर्नुपरेका मुद्दालाई कोपलगायत विभिन्न मञ्चमा उठाउँदै आएकाले यसमा अजबैजानी सरकारको ऐक्यबद्धताका लागि आग्रह गर्न चाहन्छु।”
सन् १९९१ मा स्वतन्त्र भएपछि अजरबैजानले हासिल गरेको बृहत् विकास र आर्थिक रूपान्तरणको राष्ट्रपति पौडेलले प्रशंसा गरे। उनले राजनीतिक परिवर्तनपछि नेपाल हाल आर्थिक विकासको बाटोमा अघि बढिरहेका र सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको बताए । “आर्थिक रूपान्तरण र विकास बिना हामीले हासिल गरेको राजनीतिक उपलब्धिहरू संस्थागत गर्न सकिँदैन,” उनले भने।
राष्ट्रपति पौडेलले अजरबैजानका उनका समकक्षी अलियेफको सक्षम नेतृत्वमा आयोजना भइरहेको कोप२९ को पूर्ण सफलताका लागि बधाई दिँदै सम्मेलनले पारित गर्ने घोषणापत्रले नेपालजस्ता अत्यन्त न्यून कार्बन उत्सर्जन गर्ने तर जलवायु परिवर्तनको ठूलो असर व्यहोरिरहेका मुलुकहरूको हक र हित संरक्षण गर्ने विश्वास व्यक्त गरे। उनले नेपालमा कृषि, पर्यटन र जलस्रोतका क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेकोतर्फ ध्यानाकर्षण गराएका थिए।
भेटवार्तामा अजरबैजानका राष्ट्रपति अलियेफले आफू अझै एक वर्ष कोपको अध्यक्ष रहने सन्दर्भमा जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नजिक रहेर काम गर्ने बताए। उनले नेपालले प्रस्ताव गर्ने क्षेत्रमा लगानी गर्न सकारात्मक रहेको बताएका थिए।
सन् १९९५ मा नेपाल र अजरबैजानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। दुवै देशले संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चहरूमा दिगो विकास तथा जलवायु परिवर्तन जस्ता साझा चासोका विषयहरूमा सहकार्य गरिरहेका छन्।
राष्ट्रपति पौडेलले कोप२९ अन्तर्गत उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई मंगलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा नेपालले आफ्ना अजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो। राष्ट्रपति पौडेलले किर्गिस्तानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका थिए भने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्र/सरकार प्रमुखसँग गरेको सामूहिक भेटघाट कार्यक्रममा सहभागी रहेको थियो।
अजरबैजानका समकक्षीसँगको भेटपछि राष्ट्रपति पौडेल स्वदेश फर्कने क्रममा बिहीबार बाकुबाट कतारको दोहाका लागि प्रस्थान गरेका छन्। उनी शुक्रबार बिहान काठमाडौँ आइपुग्ने कार्यतालिका छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
