बाढीले क्षति पुर्याएको दुई महिना पुग्नै लाग्दा पीडितले अझै बस्ने वास पाएका छैनन्। कोही आफन्तकहाँ बसेर दैनिकी चलाइरहेका छन् भने, कोही सरकारले दिने राहत पर्खिरहेका छन्।
ललितपुर– असोज १२ गते शनिबारको बाढीले काठमाडौँ उपत्यकामा ठूलो जनधनको क्षति गर्यो। बागमती, नख्खु खोला र दक्षिण ललितपुरको थोत्ने खोलामा आएको बाढीको कारण केहीले ज्यान गुमाए भने केही अझै बेपत्ता छन्।
दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका–२ थोत्ने खोलामा आएको बाढीका कारण ४८ घर पूर्ण रूपमा विस्थापित भए। थप १४ घर बस्न मिल्ने अवस्थामा छैनन्। बाढीले क्षति गरेको दुई महिना पुग्नै लाग्दा पनि पीडितहरू अझै कहाँ बस्ने भन्ने यकिन छैन।
सरकारले राहत स्वरूप बाढीपीडितलाई दिने भनेको ५० हजारमध्येमा पहिलो किस्ताको २५ हजार अझै पाउन सकिरहेका छैनन्। बाढीले घरवास पूर्ण रूपमा क्षति पुर्याएका पीडित हाल आफन्तकहाँ बसेर दैनिकी चलाइरहेका छन्। घरवास नै नभएका पीडितलाई चिसो बढेसँगै कहाँ बस्ने चिन्ताले सताइरहेको महाङ्काल गाउँपालिका–२ का वडाध्यक्ष जोनीकुमार न्यासुर बताउँछन्।
महाङ्काल गाउँपालिका–२ का वडाध्यक्ष न्यासुरका अनुसार बाढीले क्षति पुर्याएको पूर्ण विवरण संकलनको काम अन्तिम चरणमा छ। क्षति विवरण पूर्ण रूपमा संकलन भएपछि बाढीपीडितलाई पहिलो किस्ता वितरण गरिनेछ। हाल वडा कार्यालयको समन्वयमा विभिन्न दातृ निकायले दिएको राहत पीडितलाई वितरण गरिरहेको अध्यक्षको जोनीकुमारको भनाइ छ।
“बाढीले क्षति पुर्याएको करिब दुई महिना हुनै लाग्दा पीडितले बस्ने वास पाएका छैनन्। कोही गाउँमै आफन्तकोमा बसेका छन् भने कोही ललितपुर महानगरमा गएर आफन्तको बसेका छन्,” उनले भने, “४८ घरको कुनै नाम निसानै छैन। १४ घर बस्न योग्य छैनन्।”
उनका अनुसार एकीकृत बस्तीका लागि ६७ घरधुरी बाढीपीडितले वडामा निवेदन दिएका छन्। बाढीपीडितको मागअनुसार महाङ्काल गाउँपालिकाकै टुटुवा थुम्कामा एकीकृत बस्ती बसाउने पालिकास्तरीय सर्वदलीय बैठकमार्फत पारित भइसकेको छ।
बाढीले घरवास नै बगाएर लगेपछि हाल ललितपुरको सातदोबाटोस्थित छोरीको घरमा बस्दै आएको महाङ्काल गाउँपालिका–२ मनिखेल थोत्ने खोलाका बाढीपीडित बुद्धिमान स्याङ्तान बताउँछन्। घरवास बाढीले बगाएर लगेपछि आफन्तकोमा अस्थायी रूपमा बस्नुपरेको बाध्यता बुद्धिमानको जस्तै अरू धेरैको छ। “बाढीले बस्तीलाई बगरमा परिणत गरेको छ। कसको घरवास कहाँनेर हो भन्ने ठम्याउन सकिँदैन,” उनले भने, “बाढीको प्रकोपबाट बाँचेका केहीले अब कहिल्यै त्यो ठाउँमा नफर्कने निधो गरेका छन्।”
दातृ निकायले राहत स्वरूप दिएको सहयोगले कतिपयले टहरा निर्माण गरेर अस्थायी रूपमा बसेका छन्। कतिपय अझै आफन्तकहाँ बसेर सरकारले राहत स्वरूप दिने भनेको पहिलो र दोस्रो किस्ताको ५० हजारको प्रतीक्षामा छन्।
स्थानीय गोमामाया लामाका अनुसार अब बिस्तारै सबैले टहरा निर्माण गर्दै छन्। वडा कार्यालयको समन्वयमा दातृ निकायबाट पाएको राहतले दैनिकी चलाए पनि उनीलगायतका पीडित पुर्खौंदेखिको घरवास बाढीले बगरमा परिणत गरेपछि अस्थायी टहरा कहाँ बनाउने चिन्ता छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
