विश्वकपमा छनोट भएको यू१९ क्रिकेट टोली स्वदेश फर्कियो

विश्वकप र एशिया कपमा स्थान सुरक्षित गरेर फर्किएको यू१९ महिला क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीलगायतले स्वागत गरेका छन्।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– आईसीसी महिला यू१९ विश्वकपका लागि छनोट भएको नेपाली यू१९ महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। 

यू१९ महिला क्रिकेट टोली बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। उनीहरूलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलगायतले माला, खादा लगाइदिएर स्वागत गरेका छन्।

युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आईसीसी यू१९ महिला टी२० विश्वकपको एशिया छनोटको अन्तिम खेलमा नेपालले घरेलु टोली यूएईलाई आठ विकेटले पराजित गरेको थियो। जितसँगै नेपालले सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एशिया कपमा स्थान सुरक्षित गरेको छ।

एशिया छनोटका ६ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो। एक खेलमा पराजित भएको थियो। क्यानले प्रोत्साहन स्वरूप खेलाडीहरूलाई जनही दुई लाख ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। त्यस्तै, टिम अफिसियललाई पनि एक लाख ५० हजार दिइने क्यानले जनाएको छ।