पहिलोपटक नेपालबाट ४० मेगावाट विद्युत् बांग्लादेश निर्यात

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ।

काठमाडौँ– नेपालमा उत्पादित बिजुली भारतपछि बांग्लादेशतर्फ निर्यात शुरू भएको छ। क्षेत्रीय विद्युत् व्यापारमा यो अर्को ऐतिहासिक परिघटना पनि हो। 

नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बांग्लादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्वीच अन गरी विद्युत् निर्यातको शुभारम्भ गरे। नेपाल र भारतबीचमात्र विद्युत् व्यापार हुँदै आएकोमा अब नेपालको विद्युत् तेस्रो देशमा विस्तार भएको छ। 

नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बांग्लादेशसम्म पुगेको छ। नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसनमा विद्युत् पुग्नेछ। त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बांग्लादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बांग्लालादेश) ४०० केभी प्रसारण लाइनमार्फत बांग्लादेश विद्युत् पुग्नेछ। नेपालबाट भारत हुँदै बांग्लादेशतर्फ विद्युत् निर्यात मध्यान्ह १२ः३० बजेबाट शुरू भएको हो। यसवर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र हुनेछ। 

त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बांग्लादेशतर्फ पुनः विद्युत् निर्यात हुनेछ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् निर्यातका लागि बिहीबार स्वीकृति दिएको थियो। केन्द्रीय विद्युत् प्राधिकरणले दुई आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म बांग्लादेश निर्यात स्वीकृति दिएको हो।

यी दुवै भारतमा विद्युत् निर्यातका लागि स्वीकृति पाइसकेका आयोजना हुन्। नेपाल विद्युत् प्राधिकरणले वर्षायामको ६ महिना अर्थात हरेक वर्षको जुन १५– नोभेम्बर १५ सम्म पाँच वर्ष ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बांग्लादेशलाई बिक्री गर्नेछ। नेपाल–बांग्लादेशबीच विद्युत् व्यापार डलरमा हुनेछ। प्राधिकरणले बांग्लादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ।