मन्त्री पाण्डेले दिए सांसद बजगाईंविरुद्ध उजुरी

पर्यटनमन्त्री एवं कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पार्टीकै सांसद राजेन्द्र बजगाईंले आफूविरुद्ध शृंखलाबद्ध रूपमा गलत प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन्।

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेपाली कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले सांसद राजेन्द्र बजगाईंले आफूविरुद्ध शृङ्खलाबद्ध रूपमा गलत प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन्।

अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा कांग्रेसका महासमिति सदस्य तथा गोरखा क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृङ्खलाबद्ध रूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमा गलत प्रचार गर्दै आएको उल्लेख गरेका छन्।

“नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ,” उजुरीमा भनिएको छ, “लोकतन्त्र र विधिको शासनमा यसखाले अवाञ्छित क्रियाकलापलाई कानूनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ।”

एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै बजगाईंले मंगलबार सामाजिक सञ्जालमा गरेको पोस्टका आधारमा केही अनलाइन सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए। लगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप भन्दै कानूनी प्रक्रियामा जाने प्रतिक्रिया दिएका थिए। त्यसपछि सांसद बजगाईंले पाण्डेविरुद्धका सबै पोस्ट केही घण्टापछि नै सामाजिक सञ्जालबाट हटाएका थिए।

उनले उजुरीमा बजगाईंले लगाएका आरोपमाथि आवश्यक अनुसन्धान गरी सत्यतथ्यको उजार गर्न माग गरेका छन्। “प्रतिनिधिसभा सदस्यले पदीय मर्यादा र गरिमासमेतको ख्याल नगरी मिति २०८१ कात्तिक २७ गते आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल ट्विटर (एक्स) र फेसबुकमार्फत निन्दनीय भाषामा लगाएको आधारहीन फरेबपूर्ण, कलुषित तथा गैरकानूनी आरोपलाई चुनौती दिँदै सत्यतथ्यको उजागर गराई, यस खालका अमर्यादित अवाञ्छित अराजक तथा गैरकानूनी कार्यमाथि अनुसन्धान गरी आवश्यक कारबाही गरिदिनु हुन अनुरोध गर्दछु” उनले उजुरीमा भनेका छन्।