कृषि सामग्री कम्पनीको गोदामको ‘भेन्टिलेटर’बाट मल चोरिएको यो घटना पहिलो हो कि कुनै सिलसिला हो, यसमा क–कसको संलग्नता छ लगायतका कोणबाट अनुसन्धान जारी रहेको पर्साका प्रजिअ गणेश अर्याल बताउँछन्।
काठमाडौँ– तिहारका बेला सीमापारि भारतबाट वारि नेपालतर्फ पटका र अन्य विस्फोटक पदार्थ भित्रिन नदिन कात्तिक ११ गते साँझ पर्सा जिल्ला प्रहरीको एउटा टोली इनर्वा र नगवाबीचको क्षेत्रमा निगरानी गरिरहेको थियो। सोही क्रममा भुटनदेवीस्थानसँगै रहेको कृषि सामग्री कम्पनीको गोदामतर्फ केही मानिसको गतिविधि प्रहरीले भेउ पायो। गोदामनजिकै ८१ बोरा रासायनिक मल डीएपीसहित तीन जना भेटिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लियो।
बरामद मल कृषि सामग्रीको परिसरमा बनाइएका दुई वटा नयाँ गोदाममध्ये पूर्वतर्फको ‘रोसनदान’ (भेन्टिलेटर)को फलामे बार (ग्रिल) खोली निकालिएको थियो। मल चोरीको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
गोदामबाट मल चोरिएको यो घटना पहिलो हो कि कुनै सिलसिला हो, यसमा क–कसको संलग्नता छ? लगायतका कोणबाट अहिले अनुसन्धान जारी रहेको मुद्दामा सुनुवाइ गरिरहेका पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले बताए।
यसअघि पनि यसरी मल चोरी भएको र त्यसलाई कृषि सामग्री कम्पनीले आकस्मिक प्रयोगका लागि राख्ने बफर स्टकबाट मिलाउने काम भएको स्रोतले दाबी गरेको छ। उक्त सूचना आफूहरूसँग पनि आएकाले कम्पनीका प्रतिनिधिसँग गोदाममा मल राख्ने बेलाको कागजात, निकालिएको तथ्यांक र अहिलेको मौज्दात विवरण मागेको प्रजिअ अर्यालले जानकारी गराए। “उहाँहरूले यो हुन सक्दैन भनेर दाबी गर्नुभएको छ, अनुसन्धान भइरहेको छ,” उनले भने।
यस चोरीमा संलग्नताको आरोपमा राजु मियाँ मन्सुर, मुन्ना पासवान र समसुलहक अन्सारी तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ल प्रहरी कार्यालय, पर्साले जनाएको छ। २५ दिनसम्म अनुसन्धानको म्याद रहेकोले आफूहरूले यसलाई सूक्ष्म तरिकाले हेरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए।
“मल गोदामबाट चोर्दाचोर्दैको अवस्थामा फेला परेपछि उनीहरू पक्राउ परेका हुन्, अहिले चोरीको मुद्दा अगाडि बढेको छ,” प्रहरी नायब उपरीक्षक भारतीले भने, “यस्तो खालको चोरी पहिले पनि भएको छ कि भन्ने कुरा अनुसन्धानको क्रममै आउने कुरा भयो। अरू तथ्यहरू फेला पर्यो या थप मान्छेको संलग्नता खुल्यो भने त्यसमा थप अनुसन्धान हुन्छ नै । एउटा व्यक्तिले चोर्न सक्ने कुरा होइन गिरोह नै लागेको हुनुपर्छ।”
कम्पनीका कुनै तहका व्यक्तिको संलग्नताबारे अहिलेसम्म खुलिनसकेको उनले जानकारी दिए।
कृषि सामग्री कम्पनीका सूचना अधिकारी पुण्यप्रसाद उपाध्यायले यो विषय वीरगन्जस्थित प्रादेशिक कार्यालयले हेरिरहेकोले आफूलाई विस्तृत जानकारी नभएको बताए। घटनाको प्रकृति हेर्दा पहिलो पटक नभई विगतमा सिलसिलाबद्ध रूपमा भएको हुन सक्ने देखिए पनि यकिन जानकारी प्राप्त नभएको उपाध्यायको भनाइ छ। बाँकी प्रहरीको अनुसन्धानबाट खुल्ने उनले बताए।
कम्पनीका खरिद महाशाखा प्रमुख राजेन्द्रबहादुर कार्कीका अनुसार बफर स्टकबाट मल वितरण गर्ने निर्णय मन्त्रालयस्तरबाट भएर प्रदेश कार्यालयलाई निर्देशन जाने गर्छ। कम्पनीको वितरण महाशाखामा बोधार्थ जानकारी मात्र आउने गर्छ। केन्द्रीय कार्यालयबाट यसबारे केही भन्न नसक्ने उनको भनाइ छ।
कम्पनीको वीरगन्जस्थित प्रादेशिक कार्यालयका प्रमुख दुर्गा पाण्डेले यो घटनाबाट आफूहरू ‘आश्चर्यमा परेको’ प्रतिक्रिया दिए। उनका अनुसार उक्त ठाउँमा पाँच/पाँच हजार टन क्षमताका नयाँ दुई वटा ठूला र अरू स–साना गरी कुल २० हजार टन मल अट्ने सात वटा गोदाम रहेका छन्।
“साँझ साढे ७ बजेतिर प्रहरीबाट घटनाबारे खबर आएपछि स्टोरकिपरसहित हामी गयौँ, सुरक्षा निगरानीमा राखिएको मल दोस्रो दिन प्रहरीले मुचुल्का उठाएपछि त्यहाँबाट ल्याइयो,” पाण्डेले भने, “पहिले पनि यस्तो गरेका थाहा भएको भए हाम्रो जानकारीमा हुन्थ्यो। गोदामबाट ग्यास निस्कनका लागि बनाइएको भेन्टिलेसनबाट चोरी भएको घटना हाम्रा लागि अकल्पनीयजस्तो थियो।”
यसअघि पनि यस्ता घटना भएको र बफरस्टकबाट मिलाइएको हुन सक्ने भन्ने आरोप निराधार रहेको उनको भनाइ छ। “गोदाम उही हो, त्यसमा भएको कुल मलमध्ये नै केही प्रतिशत बफरस्टक राखिने हो, कुल मौज्दात कति छ भनी अहिले नै भन्न मिल्दैन, गोदाम खाली भएको बेला कति भित्रियो र कति त्यहाँबाट बाहिर निकालियो भन्ने तथ्यांकले खुल्छ,” उनले भने, “त्यसमा कुनै कमी भएको छ भने कम्पनीले बेहोर्दैन, स्टोरकिपरले बेहोर्नुपर्छ । यस कारण बफर स्टक चलाउने कुरा सम्भव छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
