ठगी र किर्ते गरेको आरोपमा ८ जना पक्राउ

राजस्वको कर्मचारी भएको भन्दै नयाँ बसपार्क क्षेत्रमा ठगी र किर्तेका संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ- ठगी र किर्ते गरेको अभियोगमा काठमाडौँको नयाँ बसपार्क क्षेत्रबाट ८ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गर्दै राजस्वका कर्मचारी भएको बताउँदै ठगी र किर्तेमा संलग्न ८ जना पक्राउ परेको जनाएको हो। 

उनीहरूले ‘आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौ’ भन्दै कर असुलीको नाममा ठगी र किर्ते गरेको पाइएपछि पक्राउ गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भरतबहादुर बोहराले जानकारी दिए।  

पक्राउ पर्नेहरूमा पूर्वी नवलपरासीका मीनबहादुर विश्वकर्मा, अछामकी सागरजंग लुहार र दूधकला विश्वकर्मा, पाँचथरकी सृजना भट्टराई, सिन्धुपाल्चोककी प्रमिशा तामाङ, नुवाकोटकी अञ्जना तामाङ तथा कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन्। 

उनीहरूको साथबाट आन्तरिक राजस्व कार्यालयको नाममा छापिएको लेटरप्याड, नगद रसिदसहित ५ लाख ८ हजार ६४० रुपैयाँ पनि बरामद गरिएको वरिष्ठ प्रहरी उपरीक्षक बोहराले बताए।

उनीहरूमाथि प्रहरीले ठगी र किर्ते गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरिरहेको छ। 

अहिले पीडितहरूको उजुरी लिइरहेको प्रहरीले जनाएको छ ।