युद्धविरामका लागि इजरायलमाथि ‘दबाब’ दिन ट्रम्पलाई हमास नेताको आग्रह

हमासका एक नेताले आफूहरू गाजामा ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई यसका लागि ‘दबाब’ दिन आग्रह गरेका छन्।

हमासका एक वरिष्ठ अधिकारीले आफूहरू ‘युद्धविरामका लागि तयार’ रहेको बताउँदै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसमक्ष इजरायललाई गाजामा युद्ध अन्त्य गर्नका लागि ‘दबाब’ दिन आग्रह गरेका छन्।

“यदि युद्धविराम प्रस्ताव प्रस्तुत गरिन्छ र त्यो इजरायललाई मान्य हुन्छ भने हमास गाजापट्टिमा युद्धविराममा पुग्न तयार छ, हामी अमेरिकी प्रशासन र ट्रम्पसमक्ष इजरायली सरकारलाई आक्रमण अन्त्य गर्न दबाब दिन आह्वान गर्दछौँ”, हमासको राजनीतिक ब्युरोका सदस्य बासेम नइमले भने। 

विस्थापितको फिर्ती, कैदीको आदानप्रदानका लागि गम्भीर सम्झौता, मानवीय सहायता र पुनर्निर्माणको प्रतिबद्धताले गाजापट्टिबाट प्रस्तुत गरिएको कुनै पनि प्रस्तावले स्थायी युद्धविराम र सैन्य फिर्ताको समझदारीमा पुग्न सहयोग गर्नेछ भनेर हमासले मध्यस्थकर्तालाई जानकारी दिएको उनले बताए। 

उक्त माग गत वर्षको अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणपछि शुरू भएको युद्धविराम वार्ताहरूमा तोकिएका बुँदाहरू हुन्। चुनावी प्रचार अभियानमा ट्रम्पले मध्यपूर्वमा शान्तिको वाचा गरेका थियो र इजरायललाई अझ स्वतन्त्रता दिने प्रतिबद्धता जनाएका थिए।

हमास र इजरायलले वार्तामा ‘गम्भीरता’ नदेखाएसम्म गाजाको युद्धविराम र बन्धक मुक्तिका लागि प्रमुख मध्यस्थकर्ताका रूपमा आफ्नो भूमिका निलम्बन गरेको कतारले शनिबार बताएपछि नइमको टिप्पणी आएको हो। कतारले गत अक्टोबर ७ मा इजरायलमाथि भएको हमासको आक्रमणपछि शुरू युद्ध अन्त्य गर्ने लक्ष्यका साथ महिनौँदेखि लम्बिएको कूटनीतिक प्रयासबाट पछि हट्ने घोषणा गरेको थियो।

इजरायली आधिकारिक तथ्यांकको एएफपीले गरेको गणनाअनुसार हमासको आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार २०६ जनाको मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालयका आँकडाअनुसार गाजामा भएको इजरायलको प्रतिक्रियात्मक अभियानमा हमास प्रशासित क्षेत्रमा ४३ हजार ७६४ मानिसको मृत्यु भएको छ। तीमध्ये धेरै सर्वसाधारण छन्।  (रासस/एएफपी)