जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गँड्यौलाको मलको माग गरेको तर ढुवानीमा समस्या भएको नेपालगन्जस्थित ‘एभरेस्ट अर्ग्यानिक एग्रोफार्म’का सञ्चालक वीरबहादुर हमाल बताउँछन्।
बाँके– नेपालगन्ज उपमहानगरपालिका–१८ निवासी तेजनगरका वीरबहादुर हमाललाई गँड्यौलाको मल जुम्लामा पुर्याउन समस्या भएको छ। जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गँड्यौलाको मलको माग गरेका छन् तर यातायातको असहजताका कारण मल ढुवानीमा समस्या भएको हो।
“हाम्रो उत्पादन क्षमताभन्दा बढी वर्षमा ४०० टन मलको माग भएको थियो, त्यसलाई पूरा गर्न सकेका छैनौँ। हामीसँग उत्पादन भएकोलाई बजारीकरण गरिरहेका छौँ”, हमालले भने। दश वर्षअघि नेपालगन्ज–१ स्थित नन्दनी टोलमा ‘एभरेस्ट अर्ग्यानिक एग्रोफार्म’ स्थापना गरी गँड्यौलाको मल उत्पादन शुरू गरेको उनले बताए।
हमालले जमिन उर्वर बनाउन र विद्यमान मलको अभावलाई हटाउन गँड्यौलाको मल सहयोगी हुने विश्वास व्यक्त गरे। “कृषि कर्म गर्दा स्वस्थ उत्पादनमा जोड दिनुपर्छ। अनावश्यक रूपमा रासायनिक मलको प्रयोग गर्दा माटो र जलमा नकारात्मक असर गर्न सक्छ,” उनले भने।
अन्य किसानले उत्पादन गरेका गोलभेँडा, काउलीलगायत तरकारी संकलन गरेर प्रशोधन र बजारीकरण गर्दै किसानको उत्थान गरिरहेको बताउँदै हमालले जैविक मलका रूपमा गँड्यौला मल प्रभावकारी हुनुका साथै माटोको उर्वराशक्ति बढाउने उल्लेख गरे।
विसं २०७१ देखि २०७५ सम्म करिब ५० क्विन्टल मल उत्पादन भएको भन्दै हमालले पछिल्लो समय त्यसलाई बढाएर वार्षिक ३२ टन पुर्याइएको जानकारी दिए। गँड्यौलाको मलको उत्पादन वृद्धि गर्दै एक सय टन पुर्याउने योजना रहेको उनले जानकारी दिए।
आत्मनिर्भर कृषि कर्मको विकास गर्न, विदेशी कम्पनीले उत्पादन गरेका बिउ र रासायनिक मललाई विस्थापित गर्न अर्ग्यानिक उत्पादनमा स्थानीय सरकारले किसानलाई सहयोग गर्नुपर्नेमा हमालले जोड दिए। “हामी परनिर्भर हुँदा उत्पादकत्व घटेको छ,” उनले भने।
हमालले स्थानीय स्रोतसाधनको कच्चापदार्थ सदुपयोग गरेर गँड्यौलाको मल उत्पादन गरिरहेका छन्। दश फिट लम्बाइ र २२ फिट चौडाइमा निर्माण भएको ५२ पिटमा ४० क्विन्टल गँड्यौला बिक्री भएको उनले जानकारी दिए। भारतको पिलिभितबाट ती गँड्यौला नेपालगन्ज ल्याएको उनको भनाइ छ।
“गँड्यौलाको मलबाहेक गँड्यौला पनि बिकी हुने गरेको छ। अहिले जुम्लासहित हिमाली क्षेत्रमा ९० प्रतिशत मल जान्छ। अन्य नेपालगन्जका बजार क्षेत्रमा खपत हुने गरेको छ,” हमालले भने। १५ हजार रुपैयाँबाट शुरू भएको फार्ममा अहिले २२ लाख रुपैयाँ लगानी भइसकेको छ। सबै खर्च कटाएर वार्षिक २२ लाख रुपैयाँसम्म आम्दानी भइरहेको उनले जानकारी दिए।
मल प्रतिकिलोलाई ३० रुपैयाँ र गँड्यौला प्रतिकिलो ३०० रुपैयाँमा बिक्री भइरहेको हमालले जानकारी दिए। उनले गाईभैँसीको गोबर र स्याउला संकलन गरेर खाडलमा राखी पाँचदेखि १० महिनामा ‘आइसनिया फेडिडा’ नामक प्रजातिको गँड्यौलालाई गोबर खुवाएर मल उत्पादन हुने बताए।
यसले माटोको उर्वराशक्ति १० गुणा बढी वृद्धि हुने विश्वास गरिएको छ। गँड्यौलाले बिरुवाका लागि तयारी खाना उत्पादन गर्दछ। यो मल पानीमा पनि घुलनशील हुने, प्रतिफल पनि छिटो दिने र बालीको उत्पादन पनि बढाउने विज्ञहरू बताउँछन्।
उपमहानगरको कृषि शाखा र कृषि ज्ञान केन्द्र बाँकेबाट प्राविधिक सहयोगसहित पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको हमालले जानकारी दिए। चार कट्ठा जमिन भाडामा लिएर फार्म सञ्चालन भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
