डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको यथावत्

आयल निगमले डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको छ।

काठमाडौँ– नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको शुक्रबारको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो।

मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १५०.५० पैसा, दोस्रो वर्गमा १५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ। 

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ।

इन्डियन आयल कर्पोरेसनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।