गोरखामा मनाइयो जुनको उज्यालोमा मकै सुकाउने पर्व

कात्तिक शुक्ल पूर्णिमाको दिन जुनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र पाचन प्रणाली स्वस्थ र बलियो हुने धार्मिक विश्वासस छ।

गोरखा– गोरखामा मकै सुकाउने पर्व मनाइएको छ। यहाँका नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको मकै सुकाउने पर्व शुक्रबार राति मनाइएको हो। 

ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा नेवारलगायत समुदायले जुनको उज्यालोमा सामूहिक रूपमा मकै सुकाएर पर्व मनाएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए। 

आँगनमा प्लास्टिक ओछ्याएर भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायतका खाद्यान्न राखिएको थियो। “पर्व मनाउन स्थानीयले घरबाट मकैसहितका गेडागुडी र अन्नबाली ल्याउनुभएको थियो। यसरी सुकाएको अन्नलाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ,” उनले भने।

नेवार समुदायका अगुवासमेत रहेका ज्येष्ठ नागरिक समाज गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले झण्डै ४० वर्षदेखि मनाउन छाडिएको यो पर्व विगत तीन वर्षदेखि सामूहिक रूपमा मनाउन थालिएको बताए। कात्तिक शुल्क पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना केराउलगायत गेडागुडी, फलफूल, शखरखण्डका साथै खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ पर्व मनाउने गरिएको उनको भनाइ छ।

कात्तिक शुक्ल पूर्णिमाको दिन जुनको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र पाचन प्रणाली स्वस्थ र बलियो हुने धार्मिक विश्वाससमेत रहेको उनको भनाइ छ। यो पर्व नेवार समुदायले घर–घरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिक रूपमा मनाउन थालिएको छ। 

परम्परा र संस्कतिलाई पुस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको तीन वर्षदेखि पुनः मनाउन थालिएको श्रेष्ठको भनाइ छ। 

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले लोप हुनै लागेको मकै सुकाउने पर्वको जर्गेना गर्न स्थानीय समुदायले थालेको प्रयास सराहनीय भएको बताए। सोही अवसरमा नेवार समुदायको परम्परा र संस्कृति झल्कने पोसाकमा सजिएर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत गरिएको आयोजकले जनाएको छ।