जलजलाबाट हिमाल हेर्दा…

जलजला म्याग्दीस्थित द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा पर्छ। समुद्री सतहबाट तीन हजार ४२० मिटर उचाइमा रहेको यो क्षेत्र अहिले पर्यटकीय गन्तव्य बन्ने क्रममा छ। 

तस्वीर: नेपाल फोटो लाइब्रेरी

म्याग्दी– ठूलो जंगलको बिचमा घाँसेमैदान। आँखै अगाडी पुथा, गुर्जा, मानापाथी, धवलागिरिलगायत दर्जनभन्दा बढी हिमशृंखला। जंगली फूलहरूको सुन्तरता। म्याग्दीको धवलागिरि गाउँपालिका–२ स्थित जलजला क्षेत्रले यहाँ पुग्ने जो कोहीलाई लोभ्याउँछ। 

पूर्वीरुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ। द्वन्द्वकालको प्रख्यात गुरिल्ला पदमार्गमा रहेको जलजला म्याग्दीमा पर्छ। गुरिल्ला पदमार्ग म्याग्दीबाट शुरू भएर जलजला हुँदै बागलुङको ढोरपाटन, रुकुम छिचोल्दै रोल्पामा गएर टुंगिन्छ। जलजला समुद्री सतहबाट तीन हजार ४२० मिटर उचाइमा रहेको छ। 

जलजलाबाट बिहान सूर्योदयको मजा लिँदै सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनासलु हिमालको दृश्यावलोकन गर्न सकिन्छ। बर्खामा गोठ राख्न म्याग्दी र बागलुङबाट गोठाला आउने गर्छन्। म्याग्दी धवलागिरि लुलाङका फुलमान विकले पनि यहाँ आफ्नो गोठ राख्ने गर्छन्। लामो समय ट्रेकिङ गाइड गरिसकेका फुलमान उक्त पेसा छाडेर पर्यटकलाई सुविधा दिन गोठमा बस्दै आएका छन्। जलजलामा अहिले उनको एउटा गोठ मात्र छ। 

पर्यटकलाई पानी चियाले स्वागत गर्छन् फुलमान। यसरी आफ्नो ठाउँमा आएका पर्यटकलाई पाहुना ठानेर सेवा गर्दा सन्तुष्टि मिल्ने फुलमानले बताए। “जलजला लुकेको छ। यसलाई प्रचारप्रसार गर्न निकै जरुरी छ,” उनले भने, “जलजला आउने पर्यटकलाई यहाँ बस्न कुनै असुविधा छैन। उहाँहरू रमाएरै फर्किनुहुन्छ।”

फुलमानले विगत ६ वर्षदेखि जलजलामा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आएका छन्। जलजला पुग्न ढोरपाटनको पाखाथरबाट कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टाको यात्रा गर्नुपर्छ। पैदलयात्रा गर्न ढोरपाटनबाट गुर्जाघाट हुँदै तल्लो जलजलासम्म ५ देखी ६ घण्टा लाग्छ। 

बेनीबाट धवलागिरि गाउँपालिकाको मुना हुँदै खोरियासम्म गाडीमा जान सकिन्छ। त्यहाँदेखि ५ घण्टा उकालो यात्रा गरेपछि जलजला पुग्न सकिन्छ।