राष्ट्रिय कर दिवस: उत्कृष्ट करदाता सम्मानित

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्ने नेपाल दूरसञ्चार कम्पनीलाई सम्मान गरिएको छ। व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्। 

काठमाडौँ– सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा शनिबार सम्मान गरेको हो।

अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भएको छ। एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ।

वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ सबैभन्दा बढी आयकर डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक, कृषि एवं पशुपन्छी क्षेत्रतर्फ बढी आयकर पतन्जली आयुर्वेद, बैंक वित्तीय संस्था र बिमाको कारोबार गर्ने कम्पनीतर्फ नबिल बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सम्मान गरिएको छ।

स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेड, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल लिमिटेड, वस्तु व्यापार गर्ने कम्पनीमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोरलाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरिएको छ। 

गत आर्थिक वर्षमा ५० करोड रुपैयाँदेखि १ अर्बसम्मको कारोबार गर्ने कम्पनीतर्फ सीडीएस एन्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ।

ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सर्फमर कारोबार गर्ने कम्पनीमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फरलाई उत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन्।

व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन्। 

२०७५ साउन देखि २०८१ असार मसान्तसम्म तोकिएको समयमा नियमित र सबैभन्दा बढी मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीका रूपमा होङ्सी शिवम सिमेन्टलाई सरकारले सम्मान गरेको छ।

वार्षिक ५० करोडसम्म कारोबार गर्ने करदातामध्ये सोल्टी इन्टरप्राईजेज र विशेष उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेबापत वरुण बेभरेजलाई सम्मान गरिएको छ। कर दिवसका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय पनि सम्मानित भएका छन्।