भारतको अस्पतालमा आगलागी: १० जना नवजात शिशुको मृत्यु, १६ गम्भीर

शुक्रबार राति करिब साढे १० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसीयूमा आगलागी भएको थियो।

तस्वीर: पीटीआई

भारतीय अस्पतालमा आगलागी हुँदा १० जना  नवजात शिशुको मृत्यु भएको छ। अन्य १६ शिशुको अवस्था गम्भीर रहेको उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकले बताए। उनका अनुसार सातवटा शवको पहिचान भइसकेको छ। 

शुक्रबार राति करिब साढे १० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसीयूमा आगलागी भएको थियो। घटनास्थलको फुटेजमा वार्डभित्र जलेको विस्तरा तथा  पर्खाल देखिएका थिए भने पीडित परिवार अस्पताल बाहिर पर्खिरहेका थिए। आगलागीबाट उद्धार गरिएका बच्चालाई सुरक्षित ठाउँमा राखिएको थियो।

आगलागीको कारणबारे अनुसन्धान गरी दोषीलाई कडा कारबाही गरिने पाठकले जनाएका छन्। प्रमुख जिल्ला अधिकारी अविनाश कुमारले युनिटमा विद्युतीय सर्टसर्किटका कारण आगलागी भएको बताए।  

स्थानीय सञ्चार माध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै वातावरणमा अक्सिजनको स्तर बढाउन प्रयोग गरिने मेसिनरीको टुक्रामा आगलागी भएको जनाएका छन्।  

प्रधानमन्त्री नरेन्द्र मोदीले बालबालिकाको मृत्युलाई ‘हृदयविदारक’ घटना  भन्दै निर्दोष सन्तान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन्। 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोकाकुल परिवारलाई पाँच लाख रुपैयाँ  क्षतिपूर्ति दिने घोषणा गर्दै सम्बन्धित अधिकारीलाई राहत र उद्धार कार्य गर्न निर्देशन दिए।