डढेलोको जोखिमका कारण अस्ट्रेलियाका शहरहरू खाली गर्न आदेश

मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी आगलागीको खतरा रहेको पूर्वानुमान गरेको छ।

दक्षिणपूर्वी अस्ट्रेलियाली शहरका बासिन्दालाई सम्भावित डढेलो (बुसफायर)को जोखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ।

दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीले शनिबार अस्ट्रेलियाका पश्चिमी र दक्षिणपश्चिमी समुदायका लागि आपत्कालीन चेतावनी जारी गरेका छन्।

अधिकारीले चेतावनीमा जोखिम न्यूनीकरणको सुरक्षित विकल्प निकासी भएको उल्लेख गरेका छन्। उनीहरूले शहरमै बसिरहेमा आपत्कालीन सेवासमेत प्रवाह गर्न नसकिने तथा गम्भीर चोटपटकसहित मृत्युको जोखिम हुनसक्ने पनि उनीहरूले जनाएका छन्। 

“स्थिति परिवर्तन भई चाँडै खराब हुन सक्छ। आपत्कालीन सेवा तपाईंलाई मद्दत गर्न सक्षम नहुन सक्छन्। तपाईं र तपाईंको परिवार गम्भीर चोटपटक वा मृत्युको जोखिममा हुन सक्छ,” कन्ट्री फायर अथोरिटी (सीएफए)ले भनेको छ।

मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी आगलागीको खतरा रहेको पूर्वानुमान गरेको छ।

मेलबर्नबाट करिब १०० किलोमिटर पश्चिममा रहेको सानो भिक्टोरियन शहर डेरेलमा लागेको आगोसँग जुध्न २० वटाभन्दा बढी फायर ट्रक तैनाथ गरिएको जनाइएको छ।

अधिकारीहरूले शनिबार उत्तरपश्चिम भिक्टोरियामा आगो पूर्ण प्रतिबन्धको घोषणा गरी मुलुकभर सतर्कता अपनाउन सल्लाह दिएका छन्।

भिक्टोरियाको धेरै भागमा भने भारी वर्षाको पूर्वानुमानसाथ आइतबार अवस्था सहज हुने अपेक्षा गरिएको छ।