पहिरो नियन्त्रण भएपछि गाउँ फर्किए बारपाकका विस्थापित

जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षारोपण गरेर पहिरो नियन्त्रण गरिएको छ।

गोरखा– गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो। गाउँका सबैजसो घर क्षतिग्रस्त भए। 

भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङबासी जसोतसो घर मर्मत र पुनर्निर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा अविरल वर्षाले सिंगो गाउँ नै पहिरोको जोखिममा पर्‍यो। विस्थापित भएर कोही चितवन, कोही गोरखाबजार र कोही छेवेटारलगायत ठाउँमा बसाइँ सरे।

पहिरोले सिंगो गाउँ नै जोखिममा परेपछि गाउँपालिकाले भू तथा जलाधार व्यवस्थापन कार्यालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ)को सहयोगमा पहिरो नियन्त्रणका काम अघि बढाएसँगै यहाँ पहिरो नियन्त्रणमा आएको छ।

पहिरो नियन्त्रणमा आएसँगै बाध्यताले गाउँ छाडेकाहरू पुरानै थाकथलोमा फर्किन थालेको स्थानीय शुकबहादुर तामाङले बताए। “पहिरोले गाउँले सबै तितरबितर भएका थिए,” उनले भने, ‘‘अहिले पहिरो नियन्त्रणमा आएपछि गाउँ छाडेकाहरू पनि फर्किन थालेका छन्। यो वर्षदेखि बल्ल अलि ढुक्क भएको छ।”

जोखिमयुक्त ठाउँमा ‘ग्याविन वाल’सहित अम्रिसो, उतिस, रानी खनायोलगायत वृक्षारोपण गरेर पहिरो नियन्त्रण गरिएको एफएओका विपद् जोखिम न्यूनीकरण विशेषज्ञ लीलाजङ गुरुङले जानकारी दिए। अहिलेसम्म पहिराले विस्थापित भएका ६ घरपरिवार गाउँ फर्किइसकेको गुरुङले जानकारी दिए। 

“पहिरोले गाउँ नै लैजान थालेपछि बसाइँ सरेका थियौँ। झण्डै चार वर्ष चितवनमा गएर बसे पनि पहिरो रोकिएपछि गाउँ फर्किएका छौँ,” पहिरोबाट विस्थापित भएका स्थानीय शेरबहादुर गुरुङले भने। पहिरो नियन्त्रण भएसँगै गाउँमा ढुक्कले बस्न सक्ने अवस्था रहेको उनको भनाइ छ।

वृक्षारोपण गरेका क्षेत्रमा गाउँलेहरूले पशुवस्तु चरनमा समेत पूर्ण रूपमा रोक लगाएका छन्। पहिरो नियन्त्रणका लागि लगाइएको अम्रिसोबाट समूह बनाएर आयआर्जन गर्ने लक्ष्यसमेत लिएको उनको भनाइ छ। गाउँमा अहिले पहिरोको पूर्वसूचना दिन पूर्णचेतावनी प्रणाली जडान भएकाले स्थानीयले सुरक्षित महसुस गर्न थालेका छन्।