कीर्तिपुर नगरपालिकाको मेयरमा क–कसले दिए उम्मेदवारी?

कीर्तिपुर नगरपालिकाको रिक्त मेयर पदमा एमाले, माओवादी केन्द्र, नेमकिपा, जसपा नेपाललगायतका दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

काठमाडौँ– कीर्तिपुर नगरपालिकामा रिक्त रहेको मेयर, वडा नम्बर १ र ४ को अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ। मेयर तथा वडा अध्यक्षमा नेकपा एमाले, माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, नेपाललगायतका दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराइसकेका छन्।

एमालेका तर्फबाट निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा सुरेन्द्र मानन्धर, वडा नम्बर १ को वडा अध्यक्षमा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गरे। 

नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले मेयरमा र वडा नम्बर ४ मा नारायण विष्टले मनोनयन दर्ता गराएका छन्। यहाँ नेकपा एकीकृत समाजवादीले माओवादीका उम्मेदवारलाई सघाउने निर्णय भएको छ। 

नेपाली कांग्रेसले कृष्णमान डंगोललाई मेयरको उम्मेदवार बनाउन निर्णय गरेको छ। नेमकिपाका तर्फबाट श्रीकृष्ण महर्जन मेयरमा, वडा नम्बर १ को अध्यक्षमा कृष्णप्रसाद महर्जन र वडा नम्बर ४ मा महेश्वर सुवेदीले मनोनयन दर्ता गराएका छन्। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ। मेयरमा ध्रुव महर्जन, वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती र ४ मा बिजेस बस्नेतले मनोनयन दर्ता गराएका छन्।

यस्तै, कीर्तिपुरको मेयरमा तेस्रो लिंगी दीपक महर्जन (हनी) र वडा अध्यक्षमा राजीव महर्जन (मौनी)ले समेत मनोनयन दर्ता गराएका छन्। उनीहरूलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले टिकट दिएको हो।

यौनिक तथा लैंगिक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनीलाई मेयर र मौनीलाई ४ नम्बर वडा अध्यक्षको उम्मेदवार बनाइएको हो। राजनीतिमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ।

यस्तै, मेयरमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ले पनि मनोनयन दर्ता गराएका छन्। सफाइ अभियन्ता तथा सामुदायिक कार्यकर्ता मानव नेवा लहना रेस्टुरेन्टका अध्यक्ष एवं सञ्चालक हुन्। उनलाई कीर्तिपुरको मेयरमा प्रतिस्पर्धी उम्मेदवारका रूपमा हेरिएको छ।

मंसिर १६ गते देशका ४४ वटा स्थानमा उपनिर्वाचन हुँदैछ, जसमध्ये तीन वटा स्थान कीर्तिपुरमा परेको छ। आयोगले बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्दै छ। आइतबार साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ।