सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य प्रतिष्ठानमा छुट्टै वार्ड

सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना भएको छ। 

काठमाडौँ– थारू समुदायमा प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिएको सिकलसेलको उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै वार्ड स्थापना भएको छ। 

आइतबारबाट प्रतिष्ठानमा भर्ना हुने आउने सिकलसेलका बिरामीका लागि १० बेड र दिवा उपचारका लागि पाँच बेडसहितको वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति विकास लामिछानेले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत कात्तिक २० गते मन्त्रीस्तरीय निर्णय गर्दै भेरी अस्पताल नेपालगन्जमा बेग्लै वार्ड स्थापना गरेका थिए। यसलगत्तै थारूबहुल क्षेत्र दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य प्रतिष्ठानमा समेत सिकलसेल उपचारका लागि बेग्लै वार्ड स्थापना गरिएको हो।

मन्त्रालयका अनुसार सिकलसेलबाट समुदायका झन्डै १२ प्रतिशत नागरिक प्रभावित पाइएको छ। यसअघि दिउँसो मात्र उपचार गर्ने गरिएकामा भर्नाका लागि पर्याप्त व्यवस्था गरिएकाले अब प्रतिष्ठानबाट जुनसुकै समयमा उपचार सहज हुने उपकुलपति लामिछानेले जानकारी दिए।