‘ए’ डिभिजन लिग अन्योलमा

एन्फाले पुष २६ गतेबाट शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने निर्णय गरिसक्दा खेलमा सहभागी हुने टिमहरू भने दर्ता भएका छैनन्।

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको मेरुदण्ड मानिने शहीद स्मारक ‘ए’ डिभिजन लिग पुष २६ बाट आयोजना गर्ने निर्णय गरिसकेको छ। 

खेल हुन महिना दिन बाँकी रहेको अवस्थामा सहभागी हुने क्लबले अहिलेसम्म टिम दर्ता गराएका छैनन्। 

अघिल्लो संस्करणको बक्यौता रकम बाँकी रहेको अवस्थामा क्लबले सहभागिता जनाउन चाहिरहेका छैनन्। सहभागी हुने क्लबलाई एन्फाले पुष पहिलो साताभित्र क्लब दर्ता गराएर पहिलो किस्ताको तयारी खर्च लिन पत्राचार गरे पनि प्राविधिक हिसाबमा भने क्लबहरू तयारी नपुगेको भन्दै चिन्तित छन्। 

यसले निर्धारित मितिमा नै लिग हुन्छ भन्नेमा अन्योलता भएको छ। 

शहीद स्मारक ए डिभिजन लिग घोषित मितिमा नै गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लबलाई पत्राचार गरिसकेको छ। पुष पहिलो साता भित्र दर्ता गराए लिग तयारी खर्च दिने भनिए पनि क्लबले अघिल्लो संस्करणको लिगको बक्यौता रकम दिन माग राख्दै दर्तालाई विलम्ब गरिरहेका छन्। 

बक्यौता रकम नपाएको भन्दै केही साता अघि मात्र केही अधिकांश क्लबले एन्फामा रकम भुक्तानीको ज्ञापन पत्र बुझाएका थिए। तिनैमध्येको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फाबाट पठाएको पत्र अनुसार तयारी खर्च उपलब्ध गराएको अवस्थामा क्लब दर्ता गर्न तयार भएको बताए। 

सधैँ लिग आयोजना गर्दा ठूलो मात्रामा रकम खर्च हुने गरेको र छुट्टयाएको रकम समयमा पाउन नसक्दा क्लब सञ्चालनमा समस्या भएको बताए। 

उनले एन्फा र क्लबबीच डबल लिग, काठमाडौँ भन्दा बाहिर लिग आयोजना र कम्तीमा पनि ६ महिना लिग सञ्चालनको अवधि निश्चित भएको खण्डमा मात्रै आफूहरू लिग खेल्न तयार भएको बताए। अध्यक्ष तुलाधरले तोकिएको मितिमा लिग हुन प्राविधिक हिसाबमा कठिन हुने भएकाले लिग नहुनेमा क्लब चिन्तित भएको बताए।

उनले भने, "एन्फाको निर्देशन पालना गर्नु क्लवको दायित्व हो। एन्फाले दिएको निर्देशन हामीले पालना गर्छौं। लिगको स्टेकहोल्डर भएको नाताले हामीले सल्लाह सुझाव दिन्छौं। लिग हामी सबैको साझा विषय हो। सल्लाह र सुझाव लिन्छौं र दिन्छौं पनि। एन्फा र क्लवबीच ए डिभिजन लिगका विषयमा भएको सहमति भनेको डबल राउण्ड रोबिन लिग गर्ने, लिग घटीमा पनि ६ महिना चालउने, काठमाडौँ उपत्यका भन्दा बाहिर पनि आयोजना गर्ने विषयमा भएको छ। यसमा हामी सम्झौता गर्दैनौं। यस बाहेक अन्य विषयमा सम्झौता गरेर पनि अगाडि बढ्नसक्छौँ।” 

एन्फाले भने निर्धारित मितिमा नै लिग सञ्चालनका लागि क्लब दर्ता गर्दै प्रक्रिया पूरा गरेर तयारी खर्च लिनका लागि आह्वान गरेको छ। एन्फाका महासचिव किरण राईले पुरानो बक्यौता भुक्तानीका लागि प्रक्रिया अगाडि बढिसकेको बताए। 

त्यसका लागि एन्फाले मंसिर २३ सहभागी हुने सबै क्लबलाई पत्राचार गरेको र पुष पहिलो साता भित्र प्रक्रिया पूरा गरे क्लब दर्ता गरेर पहिलो किस्ताको रकम लिन आग्रह गरे। यससँगै लिगको विषयमा रहेको अन्योलता हटेको महासचिव राईले बताए।

उनले भने, “क्लवको माग भनेको पुरानो बक्यौता पाउनुपर्‍यो र नयाँ सिजनका लागि पेस्की उपलब्ध गराउनुपर्‍यो भन्नुभएको हो। नयाँको पहिलो  किस्ता हामीले दिँदैछौँ। पुरानोको सन्दर्भमा प्रक्रिया नपुगेर रोकिएको छ। प्रक्रिया पूरा गर्न हामीले भनिरहेका छौँ। प्रक्रिया पूरा गरिसेका क्लबको सन्दर्भमा भुक्तानीका लागि अगाडि बढाइसकेका छौँ। लिग सुचारु गरिहाल्नुपर्ने भएकाले हामीले क्लबहरूलाई पत्राचार गरिसकेका छौँ। पुष पहिलो साताभित्र क्लब दर्ता गर्दै सम्झौता गरेर तयारी खर्च लिन आग्रह गरेका छौँ।”

पछिल्लो समय फुटबल गतिविधि नहुँदा खेलाडीहरू विकल्पका बाटो रोजिसकेका छन्। केही खेलाडी व्यावसायिक फुटबलका लागि बिदेसिएका छन् भने केही खेलाडीले फरक विधामा भविष्य खोजिरहेका छन्। मोफसलमा आयोजना हुँदै आएका प्रतियोगिता पनि एन्फाको क्यालेन्डरमा आयोजना हुन मुस्किल भइरहेको छ। 

सोही अवस्थामा विश्वभर फैलिएको कोरोना महामारीले अन्य क्षेत्रमा जस्तै फुटबलमा पनि व्यापक असर गर्यो। एन्फामा पंकजविक्रम नेम्वाङको नेतृत्वमा नयाँ कार्यसमिति आएपनि निर्वाचनका बेलामा बाँडिएका अजेन्डा अनुसार फुटबलमा कामले गति लिन सकेको छैन। 

आफ्नो जीवन नै खेलमा समर्पण गरेका खेलाडीलाई फुटबल गतिविधि नहुँदा कठिन हुँदै गएको छ। मुस्किलले केही महिना मात्र हुने फुटबलले खेलाडीलाई बाँच्न गाह्रो भएको र विकल्पको बाटो रोज्नुपर्ने बाध्यता भएको नेपाली टोलीका पूर्व सदस्य विक्रम लामा बताउनु हुन्छ।

पूर्व राष्ट्रिय खेलाडी लामाले फुटबलमा जीवनयापन गरिरहेका खेलाडी र फुटबल विकासका लागि घरेलु लिग व्यवस्थित र परिमार्जित हुनुपर्ने माग राखे। 

उनले भने, “फुटबलको घरेलु संरचना बलियो नभएसम्म देशको फुटबलको विकास हुँदैन भन्ने मान्यता संसारभरको नै हो। त्यसका लागि लिग निकै आवश्यक पर्छ। एउटा खेलाडीले खेलमा लाग्छु, प्रगति गर्छु भनेर लागि सकेपछि सबै विषयलाई छोडेको हुन्छ। यस्तै अवस्थामा घरेलु लिग हुनुपर्छ।”

उनले फुटबल गतिविधि नहुँदा कतिपय खेलाडीले विकल्पको बाटो खोज्नुपर्ने बाध्यता भएको बताए। अर्धव्यावसायिक भएपनि खेलाडीहरू फुटबलसँग जोडिएको उनको कथन थियो। 

क्लब र फुटबल संघको विवादले फुटबलको मेरुदण्ड मानिने लिग अहिले द्विविधामा छ। फुटबल संघले निर्धारित समयमा नै लिग सञ्चालनको वाचा राखेपनि क्लबको मागले यसलाई द्विविधामा पुर्‍याएको हो। 

यस्तै अवस्थामा खेलाडी लामाले क्लब, खेलाडी र संघले आपसी समझदारीबाट फुटबल सञ्चालनमा ध्यान दिनुपर्ने सुझाव दिए। फुटबल भित्रको समस्या समग्र नेपाली फुटबलको समस्या भएको भन्दै असमझदारीका विषयलाई टुङ्ग्याउँदै फुटबल सुचारु गर्न माग गरे। 

खेलाडीको अधिकार भनेको फुटबल खेलेर देशको प्रतिनिधित्व गर्ने भएको भन्दै लामाले स्वच्छ वातावरणमा फुटबल उपलब्ध गराउन जिम्मेवारी निकायसमक्ष आग्रह गरे।

उनले भने, “फुटबल संघको एउटै परिवार भएपछि केही असमझदारी हुन्छ। यसले केलाई असर गर्छ भन्दा समग्र नेपाली फुटबललाई गर्छ। यस्तो अवस्थामा हामीले आफ्नो असमझदारी सबै पक्षसँग बसेर टुंग्याउनुपर्छ। यसले फुटबललाई फाइदा गर्छ। फुटबल विकासको लक्ष्यतिर पुग्छ।”

नेपाली फुटबलको संरचनामा परिवर्तन हुन आवश्यक रहेको उनले बताए। 

पछिल्लो संस्करणको शहीद स्मारक ए डिभिजन लिग सकिएको झन्डै वर्ष दिन भइसेको छ। यो बीचमा संघमा नयाँ कार्यसमितिको प्रवेश भयो। तर पनि फुटबलको समस्या समाधानमा नयाँ नेतृत्व उदासीन देखिन्छ। 

यस्तो अवस्थामा लिग आयोजना गर्न आवश्यक रकम जुटाउन एन्फाले राष्ट्रिय खेलकुद परिषद् र अन्य निकायसँग सहयोगको अपिल गरेको छ। 

मुख्य प्रायोजकको रूपमा रहेको कतार एयरवेजले हात निकाल्दा एन्फा आर्थिक रूपमा संकटमा छ। आपसी खिचातानीमा रुमलिएको एन्फा नेतृत्व र कठिन आर्थिक अवस्थाले लिग समयमा नै नहुने प्रश्न पनि उत्तिकै छ।