उपनिर्वाचन : ४२ पदका लागि ४०७ जनाको मनोनयन दर्ता

नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। 

काठमाडौँ– आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि ४०७ जनाको मनोनयन पत्र दर्ता भएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। 

गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र एक अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्। कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा दुई महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ।

धनुषामा सबैभन्दा धेरै तथा रुकुम पूर्वमा र बझाङमा सबैभन्दा कम उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। सबैभन्दा धेरै धनुषाको धनुषाधाम नगरपालिका वडा नं १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–२ र बझाङको सुर्मा गाउँपालिका–४ को वडा अध्यक्ष पदमा तीन/तीन जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको आयोगले जनाएको छ। 

स्थानीय तह उपनिर्वाचनका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवं शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको आयोगका सहसचिव पोखरेलले जानकारी दिए। 

यही मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने र मंसिर ४ गते अपराह्न ५ बजेसम्म मनोनयन पत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ। 

मंसिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। यही मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।