कार्यकालको अन्त्यमा बाइडेनको ठूलो निर्णयः रुसमा लामो दुरीका मिसाइल आक्रमण गर्न युक्रेनलाई दिए अनुमति

अमेरिकी राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा दुई महिनाअघि नै ठूलो निर्णय लिएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा दुई महिनाअघि नै ठूलो निर्णय लिएका छन्। उनले पहिलो पटक युक्रेनलाई रूसी लक्ष्यहरूमा आक्रमण गर्न लामो दुरीका मिसाइल प्रयोग गर्न अनुमति दिएका हुन्। यी मिसाइलहरू अमेरिकाले उपलब्ध गराएको हो।

रुस र युक्रेनबीच पछिल्लो ३३ महिनादेखि युद्ध चलिरहेको छ। दुई देशबीचको हिंसात्मक द्वन्द्वमा हालसम्म हजारौंको मृत्यु भइसकेको छ। कतिपय अपुष्ट रिपोर्टले मृतकको संख्या एक लाखभन्दा बढी रहेको दाबी समेत गरेको छ। दुई देशबीचको द्वन्द्वबीच अमेरिकाले ठूलो निर्णय गरेको हो। रिपोर्टहरूका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो जनवरी १९ मा आफ्नो कार्यकाल समाप्त हुनुअघि युक्रेनलाई रूसमा आक्रमण गर्न क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिएका छन्। युद्ध शुरू भएदेखि युक्रेनलाई अमेरिकाले आपूर्ति गरेको मिसाइल प्रयोग गर्न अनुमति दिइएको यो पहिलो पटक हो। बाइडेनको यो निर्णयले अमेरिकाको नीतिमा ठूलो परिवर्तन भएको विश्लेषण गरिन थालिएको छ।

उता नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जतिसक्दो चाँडो युद्ध अन्त्यका लागि सबै उपाय अवलम्बन गर्ने बताएका छन्। यसमा अमेरिकाले युक्रेनलाई दिएको सहायता सीमित गर्ने विकल्प पनि समावेश छ। तर जाँदाजाँदै बाइडेनको यस्तो निर्णयले उनको उक्त योजनालाई प्रभावित पार्ने देखिन्छ।

समाचार एजेन्सी एपीले स्रोतलाई उद्धृत गर्दै युक्रेनमा आक्रमण गर्न उत्तर कोरियाको समर्थन प्राप्त गरेको बताएको छ। उत्तर कोरियाले रुसमा हजारौं सेना पठाएको छ। यस निर्णयको प्रतिक्रियामा अब थप घातक हतियारहरू प्रयोग हुने सम्भावना छ।