यूईएफए नेसन्स लिगमा इंग्ल्यान्डको फराकिलो जित

युरो २०२४ को उपविजेता इंग्ल्यान्डले प्रशिक्षक ली कास्लीको अन्तिम खेल सम्झनलायक बनायो। अब इंग्ल्यान्डको प्रशिक्षणको रुपमा थोमस टुचेल रहने छन्।

काठमाडौँ– यूईएफए नेसन्स लिगमा इंग्ल्यान्डले फराकिलो जित दर्ता गरेको छ। सोमबार बिहान घरेलु मैदान बेम्ब्लीमा १० खेलाडीमा समेटिएको रिपब्लिक अफ आयरल्यान्डलाई ५–० गोल अन्तरले पराजित गरेको हो। युरो २०२४ को उप विजेता इंग्ल्यान्डले प्रशिक्षक ली कास्लीको अन्तिम खेल सम्झनलायक बनायो। अब इंग्ल्यान्डको प्रशिक्षणको रुपमा थोमस टुचेल रहने छन्।

पहिलो हाफमा आयरल्यान्डले उत्कृष्ट प्रदर्शन गर्दै इंग्ल्यान्डलाई रोकेको थियो। तर, दोस्रो हाफको शुरूमै ५१औँ मिनेटमा लियाम स्केल्सले जुड बेलिंघमलाई रोक्दा फाउल गरेपछि रातो कार्ड पाउँदा आयरल्यान्ड १० खेलाडीमा समेटियो। त्यतिबेला इंग्ल्यान्डले पेनाल्टीको अवसर पनि पायो। कप्तान ह्यारी केनले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई शुरूआती अग्रता दिलाए।

त्यसपछि ५५औँ मिनेटमा इंग्ल्यान्डले अग्रता दोब्बर बनाउन सफल भयो। यसैगरी ५८औँ मिनेटमा कर्नरबाट आएको बललाई कोनर गालाघरले पनि पहिलो गोल गर्दा इंग्ल्यान्ड ३–० ले अघि बढेको थियो। ज्यारोड बोवेनले मैदान प्रवेश गरेलगत्तै ७५औँ मिनेटमा गोल गर्दै इंग्ल्यान्डको अग्रता थप मजबुत बनाएका थिए। टेलर हार्वुड–बेलिसले पनि आफ्नो डेब्यू खेलमा जुड बेलिंघमको क्रसमा हेड गर्दै  ७९औँ मिनेटमा टिमका लागि पाचौँ गोल गरेका थिए।

यो जितसँगै इंग्ल्यान्ड समूह बीको २ मा १५ अंकसहित शीर्ष स्थानमा रहेको छ। यही समूहमा रहेको ग्रीसले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ। ग्रीसका कप्तान टासोस बाकासेटास र विंगर डिमिट्रिस जोलिसले एक/एक गोल गरेका थिए।

नेसन्स लिग अन्तर्गत समूह ए२ को खेलमा फ्रान्सले इटालीलाई ३–१ ले हराउँदै शीर्ष स्थान पक्का गरेको छ। खेलको दोस्रो मिनेटमै एड्रियन राबियोटले लुकास डिनको कर्नरमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएको थिए। ३३औँ मिनेटमा डिनको फ्रि–किकबाट इटालीका गोलरक्षक गुइलमो भिकारियोको आत्मघाती गोल गरेका थिए। ३५औँ मिनेटमा इटालीका एन्ड्रिया क्याम्बियासोले एक गोल फर्काएका थिए।
पहिलो हाफमा २–१ को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफको ‍६५ औँ मिनटमा राबियोटले हेडर गोल गर्दै फ्रान्सको जित निश्चित गरे।

उता, नर्वेका एर्लिङ हालान्डले कजाकिस्तानविरुद्ध ५–० को जितमा ह्याट्रिक गर्दै टोलीलाई समूह बी३ मा शीर्ष स्थानमा पुर्‍याएका छन्। पहिलो हाफमै दुई गोल गरेका हालान्डले दोस्रो हाफमा अर्को गोल थपे। एन्टोनियो नुसाले दुई गोल गर्दै नर्वेको जितमा योगदान दिएका थिए।

यस जितसँगै नर्वेले अस्ट्रियालाई पछि पार्दै नेसन्स लिगको शीर्ष स्थान पक्का गरेको छ।