भारतीय माछाका कारण नेपाली माछाले पाएन बजार

भन्सार छलेर आएका माछा सस्तो मूल्यमा पाइने र नेपाली माछाले सो मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेको व्यवसायीको गुनासो छ।

चितवन– भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित बनेका छन्। सिमाबाट भन्सार छलेर आएका माछाका कारण यहाँ उत्पादित माछाले बजार पाउन नसकेको किसानहरूले गुनासो गरेका छन्।

मत्स्य व्यवसायी संघ चितवनका सचिव लुलाराज तामाङका अनुसार अहिले माछापालन गर्ने किसान माछा बिक्री नहुँदा निराश बनेका छन्। उनले भने, “अहिले मात्रै चितवनमा ३०० टन माछा बिक्रीका लागि तयारी अवस्थामा रहेको छ।” बिक्रीका लागि तयारी अवस्थामा रहेका माछाले बजार नपाउँदा किसान आफै भन्सार छलेर आएका माछाको निगरानीमा लागेका छन्।

भन्सार छलेर आएका माछा सस्तो मूल्यमा पाइने र नेपाली माछाले सो मूल्यसँग प्रतिस्पर्धा गर्न नसकेको तामाङले बताए। काठमाडौँको बजारमा मात्रै दैनिक १५ टन माछा बिक्री हुने गरेको भए पनि अहिले नेपाली माछा नगन्य रूपमा मात्रै काठमाडौँ भित्रिने गरेको उनले बताए। यहाँको माछाको बजार काठमाडौँ, पोखरालगायतका ठाउँ हुने गरेको भए पनि अहिले माछा खपत कम भएको संघका सदस्य नीरञ्जन थापा बताउँछन्।

थापाका अनुसार अहिले भन्सार छलेर आएका माछाको निगरानीका लागि काठमाडौँ, पोखरा प्रवेश गर्ने नाकामा सशस्त्र प्रहरी बलको सहयोगमा निगरानी बढाइएको छ।

मंसिर र पुस महिनाभित्र नेपाली उत्पादनलाई बजारमा लगिसक्नुपर्ने भन्दै उनले यस्तै अवस्था रहे नेपालको उत्पादनले बजार पाउन कठिन हुने गुनासो गरे। अहिले किसानकोमा जलकपुर र पांगास माछा तयारी अवस्थामा रहेका छन्।

जिल्लामा हाल ८०० भन्दाबढी हेक्टर क्षेत्रफल जलाशयमा माछा पालिँदै आएको छ। पशुसेवा कार्यालय तथा विज्ञ केन्द्र भरतपुरका मत्स्य विकास अधिकृत गंगा भण्डारीका अनुसार जिल्लामा हाल एक हजार १०५ हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरी माछा पालिँदै आएको छ। 

उनका अनुसार त्यसबाट ४६ लाख ५५ हजार किलो माछा उत्पादन हुने गरेको छ। “बजारमा माछा आउन थालेको छ, भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउने समस्या बढ्दो छ,” भारतीय माछाको चोरी पैठारी रोक्न सरकारले काम गरिरहेको उनको भनाइ छ।

माडी, रत्ननगर, भरतपुरलगाय ठाउँ माछाका लागि पकेट क्षेत्रका रूपमा रहेका छन्। यस्तै खैरहनी र राप्तीमा पनि माछापालन हुँदै आएको छ।