प्रदूषणका कारण भारतको राजधानीमा विद्यालय बन्द

सरकारले बालबालिका र वृद्धवृद्धाका साथै फोक्सो वा मुटुको समस्या भएका व्यक्तिलाई ‘सकेसम्म घरभित्रै बस्न’ आग्रह गरेको छ।

तस्वीर : एएफपी

भारतको राजधानी नयाँ दिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्मका लागि विद्यालयलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ। यो महानगरको स्वास्थ्य संकट न्यूनीकरणको पछिल्लो प्रयास हो।

आइतबार साँझ विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको दैनिक अधिकतम मात्राभन्दा ५७ गुणा बढी पीएम२.५ प्रदूषक (फोक्सोमार्फत रक्त प्रवाहमा प्रवेश गर्ने खतरनाक क्यान्सर–कारक सूक्ष्म कण) रेकर्ड गरिएको थियो।

सोमबार बिहान यो मात्राहरू चेतावनी सीमाभन्दा करिब ३९ गुणा माथि थियो र शहर बाक्लो खैरो र आँखा पोल्ने पिरो धुवाँले ढाकिएको थियो। यो शहर प्रत्येक वर्ष पीडादायक धुवाँले ढाकिने गर्दछ। विशेष गरी छिमेकी क्षेत्रमा किसानले जोत्नका लागि आफ्नो खेत सफा गर्न पराल जलाउने, साथै कारखाना र सवारीसाधनको धुवाँलाई दोष दिइन्छ।

हावाको गुणस्तर ‘अझ बिग्रनबाट रोक्ने प्रयासमा’ शहरका अधिकारीहरूले यी प्रतिबन्ध लगाएका हुन्। अधिकारीहरूले बालबालिकाहरूलाई घरमै राखेर सवारीसाधनको चाप उल्लेख्य रूपमा घटाउन सकिने आशा राखेका छन्।

“कक्षा १० र १२ बाहेक सबै विद्यार्थीका लागि भौतिक कक्षाहरू बन्द गरिनेछ”, एउटै नाम प्रयोग गर्ने मुख्यमन्त्री आतिशीले आइतबार राति जारी गरे‍को विज्ञप्तिमा भनिएको छ।

प्राथमिक विद्यालयलाई बिहीबारदेखि नै भौतिक कक्षाहरू बन्द गर्न आदेश दिइएको थियो। सोमबार डिजेल सञ्चालित ट्रक र निर्माण कार्य सीमित गर्नेलगायत थप प्रतिबन्ध लगाइएको छ।

सरकारले बालबालिका र वृद्धवृद्धाका साथै फोक्सो वा मुटुको समस्या भएका व्यक्तिलाई ‘सकेसम्म घरभित्रै बस्न’ आग्रह गरेको छ।

शहरका धेरैले एयर फिल्टर किन्न सक्दैनन्। उनीहरूसँग प्रदूषित हावाबाट प्रभावकारी रूपमा जोगिन सक्ने घरहरू पनि छैनन्।

यी आदेश सोमबार बिहानदेखि लागू भएका छन्।

तीन करोडभन्दा बढी मानिस बस्ने नयाँ दिल्ली र यसको वरिपरिको महानगरीय क्षेत्र हिउँदमा वायु प्रदूषणको विश्व र्‍याङ्किङमा लगातार शीर्ष स्थानमा रहन्छ।

भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा मौलिक अधिकार भएको फैसला गर्दै केन्द्र सरकार र राज्यस्तरका अधिकारीहरू दुवैलाई कारबाही गर्न आदेश दिएको थियो।