घोडाघोडीमा हाल आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दूरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपक्षी आएका छन्।
कैलाली– घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराचुरुङ्गीको चहलपहल बढेको छ। सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराका लागि उपयुक्त वासस्थान मानिन्छ।
पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन्। यस वर्ष पनि आगन्तुक चराको चिरबिर आवाज र चहलपहलले घोडाघोडी ताल क्षेत्रको माहौल थप रमणीय र मनमोहक भएको छ।
उत्तरी ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून भई तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चरा उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने गरेको चराविद् डा हेमसागर बराल बताउँछन्।
अत्यधिक चिसोमा अनुकूलन हुन नसक्दा र आहारा कमीका कारण चिसो छल्न नेपाललगायत दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराको संख्या ठूलो रहेको उनले बताए। “अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन्। चराको आहारामा नोक्सान हुन्छ। त्यसैले चरा नेपाललगायत दक्षिण क्षेत्रमा आउँछन्”, चराविद् बरालले भने, “यस बेला यहाँको मौसम अनुकूल हुने र आहार पनि पर्याप्त पाइने भएकाले हरेक वर्ष चरा आउँछन्।”
सेप्टेम्बरको अन्तिम सातादेखि आगन्तुक चरा आउने गरेको नेपाल पक्षीविद् संघका अध्यक्ष हठन चौधरीले बताए। उनका अनुसार नेपालमा १५३ प्रजातिका आगन्तुक चरा आउने गर्छन्, यो क्रम डिसेम्बरसम्म चल्छ । जसमध्ये धेरैजसो हाँस प्रजातिका हुन्छन्। यहाँ आइपुगेका चरा फेरि अप्रिलमा आएकै ठाउँतिर फर्किन्छन्।
पक्षी संरक्षण संघका फिल्ड अधिकृत हिरुलाल डगौराले यो बेला विभिन्न देशबाट हजारौँ किलोमिटर यात्रा पार गरेर ठूलो संख्यामा आगन्तुक चरा आउने गरेको जानकारी दिए। “दशकौँदेखि कैलालीको घोडाघोडीका साथै महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, नकरोड, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेहटा, घोड्ताललगायत कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा आउने गर्दछन्”, उनले भने।
चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीका अनुसार संसारमा चराका नौ वटा उडानमार्ग रहेका छन्। तीमध्ये नेपालमा दुई उडानमार्ग पर्छन्। अधिकांश चरा मध्य एशिया उडानमार्ग हुँदै घोडाघोडी पुग्ने गरेको उनले जानकारी दिए। घोडाघोडीमा हाल आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दूरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपक्षी आएका छन्।
पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको घोडाघोडी ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित वासस्थान हो। विश्व जलचर इतिहासमा संकटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरी बताउँछन्।
रामसारको प्रावधानअनुसार विश्वका आठमध्ये दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय चराको सूचक यस तालमा उपलब्ध छन्। हरिहाँस, बगाले सिम कुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेको उनले बताए।
“विश्वभरका एक हजार तीन सय १४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यस ताल क्षेत्रमा मात्र पाइन्छन्। त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताका दृष्टिले घोडाघोडी ताल महत्त्वपूर्ण छ”, पक्षी संरक्षण संघका फिल्ड अधिकृत डगौराले भने।
यहाँ हरिहाँस, मगर गोही र वनधान सूचक प्रजातिका रूपमा छन्। चौधरीका अनुसार विश्वव्यापी रूपमा लोप हुँदै गएका भुडिफोड गरुण, सेतो गिद्ध, सानो खैरे गिद्ध, राज लाहाचे, राज धनेसलगायत प्रजातिका चरा पनि यहाँ बसोबास गर्छन्।
चराको महत्त्वपूर्ण बासस्थल भएकाले २७ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेन्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
