पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि

पूर्वसभामुख दमननाथ ढुंगानाको सोमबार पशुपतिस्थित आर्यघाटमा राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको छ।

काठमाडौँ– पूर्वसभामुख दमनाथ ढुंगानाको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार दिउँसो काठमाडौँस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

उनको पार्थिव शरीरको सोमबार दिउँसो राजकीय सम्मानसाथ अन्त्येष्टि गरिएको हो। ढुंगानाको पार्थिव शरीरमा छोराहरू निमेष र विशेषले दागबत्ती दिए। नेपाली सेनाको एक टुकुडीले दिवंगत ढुंगानाको सम्मानमा सलामी अर्पण गरेको थियो।

त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो। उनलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झन्डा ओडार सम्मान गरेका थिए।

पूर्वराष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सानोगौचरण पुगेर श्रद्धाञ्जली प्रकट गरेका थिए।

सरकारले पूर्वसभामुख ढुंगानाको निधनको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।