नक्कली फेसबुक आईडी बनाइ २७ लाख ठगेको आरोपमा १ जना पक्राउ

नक्कली फेसबुक आईडीको प्रयोग गरी २७ लाख रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ।

काठमाडौँ– नक्कली फेसबुक आईडीको प्रयोग गरी २७ लाख रुपैयाँ बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङलाई रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

“पक्राउ परेका रुद्रले फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी करिब २७ लाख ८३ हजार २०० रुपैयाँ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो,” उनले भने।

सूचना अधिकारी आचार्यका अनुसार उनले सोही आईडीको दुरुपयोग गर्दै केटी साथी बनाइ आफू फ्रान्स, सिंगापुरको लाहुरे हुँ, सिंगापुर लैजान्छु, सिंगापुर लैजानको लागि कागजात बनाउनुपर्छ, त्यसबापत पैसा लाग्छ भनी काठमाडौँ, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ।

उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।