असोजको बाढिपहिरो: ११ अर्ब ८२ करोड बराबरको बीमा दाबी

नेपाल बीमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये कात्तिक मसान्तसम्म ६१ करोड ७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ।

काठमाडौँ– असोज ११ र १२ गतको अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट ११ अर्ब ८२ करोड रुपैयाँ बराबरको बीमा दाबी गरिएको छ। 

नेपाल बीमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये कात्तिक मसान्तसम्म ६१ करोड ७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ। बीमा दाबी गर्दै तीन हजार ४१८ वटा निवेदन प्राप्त भएका छन्।

सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा परेको छ। सो कम्पनीमा ५०१ दाबीका आवेदन परेका छन्। दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा १७६, सगरमाथा लुम्बिनीमा ३७७, हिमालयन एभरेस्टमा २४३, नेकोमा २१९, युनाइटेड अजोडमा ३२३, सानिमा जीआइसीमा २१७, आइजीआई प्रुडेन्सियलमा २९६ दाबी परेका छन्।

त्यस्तै, नेसनल इन्स्योरेन्समा ८६, एनएलजीमा १७२, नेपाल इन्स्योरेन्समा १७६, प्रभु इन्स्योरेन्समा १३७, राष्ट्रिय बीमा कम्पनीमा १७, स्टार माइक्रो इन्स्योरेन्समा १०, ट्रस्ट र नेपाल माइक्रो इन्स्योरेन्समा समान चार/चार वटा दाबी पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा सात दाबी निवेदन परेका छन्। कूल दाबीमध्ये ९०२ वटाको भुक्तानी भएको प्राधिकरणले जनाएको छ। 

एक हजार ६५३ वटा सम्पत्ति बीमा दाबी गरिएकामा ३९८ वटाको भुक्तानी भएको छ। कूल सम्पत्ति बीमा दाबी ८ अर्ब ७५ करोड ८७ लाख रुपैयाँ भएकामा ४६ करोड ७० लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ। 

इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३०४ वटा दाबी परेका छन्। विशेष गरी बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति पुगेको थियो। अधिकांश ऊर्जा उत्पादक केन्द्रले बीमा गर्ने भएकाले पनि यो शीर्षकमा परेको दाबी भुक्तानीका लागि व्यवसायीले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयकोसमेत ध्यानाकर्षण गराएका छन्। दाबी भएकामध्ये ३८ वटाको ३ करोड ११ लाख मात्रै भुक्तानी भएको छ। 

अविरल वर्षाका कारण ठूलो मात्रामा जनधनको क्षति भए पनि बीमाको पहुँच नहुँदा कम मात्रैले दाबी गर्न सक्ने अवस्था रहेको जनाइएको छ।