गलकोटका सबै बस्तीमा पुग्यो सडक, नयाँ ट्र्याक खोल्न बन्द

पालिकाका सबै बस्तीमा सडक पुगेपछि गलकोट नगरपालिकाले नयाँ ट्र्याक खोल्न बन्द गरेर फराकिलो र स्तरीय बनाउन थालेको छ।

ढोरपाटन– गलकोट नगरपालिकाले ११ वटै वडाको बस्तीसम्म सडक पुर्‍याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ। ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो।

नगरप्रमुख भरत शर्मा गैरेका अनुसार नगरपालिका स्थापना हुनुपूर्व गलकोटमा ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएको थियो। आफूहरु निर्वाचित भएर आएपछि करिब २२० किमी बढी सडक निर्माण भइसकेको उनले बताए। पालिकाभरि नयाँ तथा पुराना गरी ५५० किमी ग्रामीण सडक निर्माण भएको छ।

नगरप्रमुख गैरेले वर्षौं अघि निर्माण भएका तथा नयाँ ट्र्याक खुलेका सडकको स्तरोन्नतिमा पालिकाले जोड दिने बताए। अहिले पालिकाका ११ वटा वडाको सबै बस्तीमा बाह्रै महिना सडक सञ्चालन हुनेगरी काम भइरहेको उनले उल्लेख गरे। 

यस वर्ष सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत हटिया बजारबाट कोटमैदानसम्म र नरेठाँटीबाट दुदिलाभाटीसम्मको सडक कालोपत्र गर्न थालिएको छ। गत वर्ष हटिया–हरिचौर–ताराखोला सडक, हटिया बजारबाट कोटघर र नरेठाँटी–दुदिलाभाटी सडक स्तरोन्नति गरिएको छ।

“गलकोट नगरपालिकाको धेरै ठाउँलाई राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गले जोडेको छ। त्योसँगै नगरपालिकाले गाउँ–गाउँसम्म पुग्ने सडकलाई व्यवस्थित बनाउन थालेको छ,” प्रमुख गैरेले भने।

नगरपालिकाले गत वर्षदेखि सडक गुरुयोजना बनाएर काम गरिरहेको छ। सात वर्षको अवधिमा करिब २० किमी ढलान तथा कालोपत्र, ८० किमी ग्राभेल, पाँच वटा मोटरेबल पुल र दुई दर्जन कल्भर्ट निर्माण गरेको छ। 

गलकोट–५ का स्थानीय प्रेमबहादुर विकले गत वर्षसम्म बर्खामा हिलो र हिउँदमा धुलोले सास्ती दिएको सडक अहिले कालोपत्र भएसँगै आवागमन सहज भएको बताए। दुई वर्ष अगाडिसम्म गाउँका धेरै सडक साँघुरा र अप्ठ्यारा हुँदा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने अवस्था थियो। अहिले स्तरोन्नति हुँदा स्थानीय तथा आगन्तुकलाई सहज भएको उनको भनाइ छ।