मालढुंगा–बेनी सडक मंसिर ११ सम्म दैनिक ६ घण्टा बन्द

पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगाबाट लस्तीसम्म कालोपत्र गर्न सडक बन्द गर्न लागिएको हो।

पर्वत– कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी खण्ड दैनिक ६ घण्टा बन्द गरिने भएको छ। सडक कालोपत्र र स्तरोन्नतिका लागि मंगलबारदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा उक्तखण्ड बन्द गर्न थालिएको हो। 

सडकको प्रवेश बिन्दुमा पर्ने पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउन सवारीसाधन बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयले जनाएको छ। बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत रोकेर निर्माण गरिनेछ। 

आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जिल्ला प्रशासन कार्यालय पर्वतमा आइतबार बसेको आयोजना, जनप्रतिनिधि, सुरक्षा अधिकारी र निर्माण कम्पनीका प्रतिनिधिको बैठकले सवारीसाधन रोकेर निर्माण गर्ने निर्णय भएको जानकारी दिए। 

म्याग्दी र मुस्ताङ आवतजावत गर्ने सवारीसाधनको चापका कारण निर्माण प्रभावित भएकाले समय तालिका बनाइएको उनले बताए। सडक फराकिलो बनाउन किनारामा रहेको ठूलो ढुंगा फुटाउने, सबबेस, बेस राखेको मालढुंगा–लस्ती खण्डको चार किलोमिटर दूरीमा प्राइमकोट बिछ्याउने र कालोपत्र गर्ने तयारी भइरहेको चापागाईंले बताए। 

उक्त खण्ड अवरुद्ध हुँदा मालढुंगा–बागलुङ–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको सूचना अधिकारी चापागाईंले बताए। अन्य सवारीका लागि सडक अवरुद्ध भए पनि अत्यावश्यक एम्बुलेन्स, दमकल र शववाहन सञ्चालनमा भने सहजीकरण गरिने आयोजनाले जनाएको छ।

कुश्मा–१ मालढुंगाबाट जलजला गाउँपालिका–८, ७, ४ र ३  नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित यस आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको छ। 

१३ किमी दूरीको बेनी–मालढुंगा सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न बेनी–जोमसोम–कोरला सडक आयोजना र एपेक्स–खड्का–कृष्ण जेभीबीच २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको थियो।